खेलाडी संघको कार्य समितीमा स्टार खेलाडीको जमघट दीपक श्रेष्ठ नयाँ अध्यक्ष


नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको अध्यक्षमा करातेका साग स्वर्णपदकधारी दीपक श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । खेलाडी संघको शुक्रबार भएको चौथो साधारण सभा एवं निर्वाचन बाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यस अघिको कार्य समितिमा महासचिवमा कार्यरत रहेका थिए ।
२० सदस्यिय निर्वाचित कार्य समितिमा नेपाली खेलकुदका लोकप्रीय स्टारको बाहुल्यता रहेको छ । पाँच उपाध्यक्षमा केदारेश्वरमान स्थापित, दीपक महर्जन, हरि खड्का, कान्छिमाया कोजु र दीपक थापा रहेका छन् । मर्हजन प्रतिष्ठित किङ्गस कप र एसियाडका पदक विजेता हुन् । खड्काको नेपाली फुटबलमा क्लासिकल फरवार्डको छबी यथाबत छ भने कोजु मध्यमदुरीकी सबैभन्दा प्रभावशाली धाबीका हुन् । महासचिवमा शिवसुन्दर गोथे, उपमहासचिवमा मन्डेकाजी श्रेष्ठ र सचिवमा कमलबहादुर अधिकारी रहेका छन् । अधीकारी दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने एक्लो भारोत्तोलन खेलाडी हुन् । कोषाध्यक्षमा साग स्वर्णपदकधारी उसु खेलाडी आङ्गबाबु लामाले निरन्तरता पाएका छन् । संधका सदस्यहरुमा टिकाराम श्रेष्ठ, रमेश कुमार श्रेष्ठ, सरोज श्रेष्ठ, दिनेश श्रेष्ठ, भोला सिलवाल, निशा रावल, नविता श्रेष्ठ, फुपु ल्हामु खत्री, शिरिष गुरुङ्ग र फुलमाया क्याप्छाकी रहेका छन् । अध्यक्ष लगायत सवै निर्विरोध निर्वाचित भएका हुन् । सदस्यमा चयन भएका नबीताले टेबल टेनिसमा सात बर्ष देखि राज गर्दै आएकी छिन् । दिनेस बिश्व च्याम्पियनसीपमा सहभागि मुक्केवाज हुन् भने निसाले गत रियो ओलम्पिकमा शिर्ष बरियताकी खेलाडीसंग प्रतिस्पर्धात्मक खेल खेलेर वाहवाही बटुलेकी थिइन् । संघका प्रायः सबै राष्ट्रिय च्याम्पियनको ताज भिरेका छन् । दक्षिण एसियाली च्याम्पियन फूपू एसियाली स्तरमा समेत सफल खेलाडी हुन् ।
यसै विच नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको अध्यक्षको रुपमा दुई कार्यकाल सफलतापूर्वक सम्हालेका निवर्तमान अध्यक्ष दीपक बिष्टलाई उनको कार्यकालमा गरिएको कामको उच्च मुल्याङकन गर्दै संघको मानार्थ अध्यक्षमा चयन गरिएको छ ।
निर्वाचित सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत राष्ट्रिय खेलकुद परिषद संघ संस्था समन्वय शाखा प्रमुख डेम बहादुर बस्नेतले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।
२७ सदस्यिय कार्य समितिमा अव दुई उपाध्यक्ष र पाँच सदस्य नयाँ कार्यसमितिको बैठकले मनोनित गर्ने नव निर्वाचित अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराए । निर्वाचन पश्चात अध्यक्ष श्रेष्ठले खेलाडी संघ सदा खेलाडीहरुको हक हितको लागि डटेर लागि परेको भन्दै आगामी दिनमा खेलाडीहरुको लागि अझ शसक्तरुपमा आवाज उठाउने बताए । यस अघि साधारण सभाको प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार बिष्टले उद्घाटन गरेका थिए

Comment