प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट शुक्रबारदेखि


राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता शुक्रबारदेखि इटहरीमा सुरु हुँदैछ । प्रतियोगितामा ५ विकास क्षेत्र र विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब गरी ६ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा इटहरी क्रिकेट एकेडेमीका अध्यक्ष कैलाश विष्टले जानकारी गराए । प्रतियोगिता इटहरी क्रिकेट एकेडेमीको स्थानिय व्यवस्थापनमा हुन लागेको हो ।
सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । एपीएफ, मध्यपश्चिमाञ्चल र पश्चिमाञ्चल समूह ‘ए’ मा छन् भने पूर्वाञ्चल, मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल समूह ‘बी’ मा छन् । दुवै समूहको विजेता र उपविजेता सेमिफाइनलमा पुग्ने छन् ।
विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार हात पार्ने अध्यक्ष विष्टले बताए । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिने छ भने उत्कृष्ट व्याट्सवोमन र बलरले समान ५–५ हजार नगद पुरस्कार हात पार्नेछन् । प्रत्येक टिमलाई तयारीका लागि ५०–५० हजार प्रदान गरिएको जानकारी गराइयो ।
प्रतियोगिता सञ्चालन गर्न अनुमानित २५ लाख खर्च हुनेछ । पहिलो दिन दुई खेल हुनेछ । उद्घाटन खेल पूर्वाञ्चल र मध्यमाञ्चलबीच हुनेछ भने दोश्रो खेलमा मध्यपश्चिमाञ्चलले पश्चिमाञ्चलको सामना गर्नेछ । खेलहरु इटहरीस्थित डिभीएम ग्लोबल स्कुलमा हुनेछन् ।

Comment