शारीरिक अपाङ्गमा सुनीतालाई तीन स्वर्ण


गंगा उमाविकी सुनीता नेपालीले २२ औं विद्यालयस्तरीय विशेष खेलकुद प्रतियोगिताको अन्तिम दिन बुधबार शारीरिक अपाङ्गतर्फ तीन स्वर्ण जितेकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुनीताले छात्रातर्फ क्रचेज नलिएर १ सय मिटर दौड, क्रचेज नलिएर २ सय मिटर दौड र क्रचेज नलिएर सटपुटमा स्वर्ण हात पारिन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको शारीरिक अपाङ्गकै क्रचेज नलिएर १ सय मिटर दौडको छात्राम खगेन्द्र नवजीवनका सुरज कार्की, एक क्रचेज लिएर १ सय मिटर दौडको छात्रमा प्रभात माविका सुनील सुनार र छात्रामा खगेन्द्रकी पूजा कार्की, दुई क्रचेज लिएर १ सय मिटर दौडको छात्रमा खगेन्द्रका युवक लामा र छात्रामा नेपाल अपाङ्ग संघकी मञ्जु थारु, क्रचेज नलिएर २ सय मिटर दौडको छात्रमा खगेन्द्र सुरज कार्की, १ सय मिटर ह्वीलचेयरको छात्रमा नेपाल अपाङ्ग संघका अशोक राना र छात्रामा रजनी राई तथा सटपुटमा क्रचेज नलिएरको छात्रमा नेपाल अपाङ्ग संघका बलबहादुर चौधरीले पहिलो स्थान हात पारे ।
बहिरा क्षेत्रतर्फ १ सय मिटर दौडको छात्रमा देवेन्द्र सारु र छात्रामा बहिरा बाल माविकी पुष्पा खत्री, २ सय मिटर दौडको छात्रमा सिद्ध बहिरा बालकको विद्यालयका धीरज शाही र छात्रामा बहिरा बाल माविकी पुष्पा खत्री, ४ सय मिटर दौडको छात्रमा बहिरा बाल माविका दयानारायण चौधरी र छात्रामा धौलागिरी बहिरा विद्यालयकी अनिता बुढा मगर, सटपुटको छात्रामा बहिरा विद्यालयकी सञ्चमाया तामाङ र छात्रमा बहिरा बाल माविका देवेन्द्र सारु तथा लङजम्पको छात्रामा विराट बहिरा माविकी चमन खातुन र छात्रमा सिद्ध बहिराका धीरज शाहीले शीर्ष स्थान कब्जा गरे ।
पूर्ण दृष्टिविहीनको सटपुट छात्रमा लेबोरेटरीका आनन्द पाण्डे र छात्रामा मंगलप्रसाद उमाविकी दौपदा सहकार्य, आंशिक दृष्टिविहीनको सटपुट छात्रमा ज्ञानोदय उमाविका लक्ष्मण बुढाथोकी र छात्रामा मंगलप्रसादकी सपना चौधरी, पूर्ण दृष्टिविहीनको स्ट्यान्डिङ लङजम्प छात्रमा जनप्रकाश उमाविका अभिषेक सुनुवार र छात्रामा लेबोरेटरीकी सनिता भट्टराई तथा आंशिक दृष्टिविहीनको स्ट्यान्डिङ लङजम्प छात्रमा शिखर उमाविका चेतन सुनुवार र छात्रामा मंगलप्रसादकी सपना चौधरीले स्वर्ण जिते । शीर्ष तीन स्थानमा रहने खेलाडीलाई प्रोत्साहन स्वरुप क्रमशः १ हजार ५ सय, १ हजार र ५ सय नगदबाट पुरस्कृत गरियो ।
विजेतालाई राखेपका सदस्यद्वय अस्मिता गुरुङ र उपेन्द्र पौडेल, राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्मा, नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइरालालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा दृष्टिविहीन, बहिरा र शारीरिक अपाङ्गतर्फ उपत्यकाबाट १४५ र उपत्यका बाहिराबाट १४३ गरी २ सय ८८ खेलाडीले एथलेटिक्सका विभिन्न ३८ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Comment