विशेष खेलकुदमा आनन्दलाई दोहोरो स्वर्ण


लेबोरेटरी उमावि, कीर्तिपुरका आनन्द पाण्डेले २२ औं विद्यालयस्तरीय विशेष खेलकुद प्रतियोगितामा मंगलबार दुई स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आनन्दले पूर्ण दृष्टिविहीनको छात्र ५० मिटर दौड र सफ्टबल थ्रोमा स्वर्ण जितेका हुन् । दौडमा लेबोरेटरीका निश्चल सिवाकोटी दोश्रो र नारायणी उमावि, चितवनका किरण पन्त तेश्रो भए । सफ्टबलमा पूर्वाञ्चल ज्ञानचक्षु, धरानका अमरदीप राई दोश्रो र जनजागृति उमावि, धादिङका दिनेशलाल श्रेष्ठ तेश्रो बने ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पूर्ण दृष्टिविहीनको छात्रा ५० मिटर दौडमा नमुना मच्छिन्द्र माविकी रुपा तामाङ पहिलो, मंगलप्रसाद उमावि, नेपालगन्जकी दौपर्दा सहकार्य दोश्रो र लेबोरेटरीकी सनिता भट्टराई तेश्रो भए । आंशिक दृष्टिविहीनको छात्र १ सय मिटर दौडमा ज्ञानोदय उमावि, म्याग्दीका विशाल वि.क. ले स्वर्ण, सन्जिवनी उमावि, काभ्रेका पासाङ लामाले रजत र मंगलप्रसाद उमावि, डोटीका यमजङ विष्टले कांस्य जिते । सोही स्पर्धाको छात्रामा लेबोरेटरीका मनीषा गिरी पहिलो र प्रनिशा रिजाल दोश्रो तथा सन्जिवनकी संगीता ढकाल तेश्रो भए ।
आंशिक दृष्टिविहीनको छात्रा सफ्टबल थ्रोमा मंगलप्रसाद, नेपालगन्जकी सपना चौधरी पहिलो, लेबोरेटरीकी वर्मा बुढा दोश्रो र नमुना मच्छिन्द्रकी निरुता श्रेष्ठ तेश्रो भए । पूर्ण दृष्टिविहीनको छात्रा सफ्टबल थ्रोमा नमुनाकी संगीता राई पहिलो, नारायणीकी निशा लामा दोश्रो र आदर्श उमावि, ठिमीकी सीता गुरुङ तेश्रो भए ।
प्रतियोगिताका राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र कोषाध्यक्ष सुरेन्द्रबहादुर हमालले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे । प्रतियोगितामा दृष्टिविहीन, बहिरा र शारीरिक अपाङ्गतर्फ २ सय ८८ खेलाडी सहभागी छन् । त्यसमा उपत्यकाबाट १४५ र उपत्यका बाहिराबाट १४३ खेलाडीले भाग लिएका छन् । ३८ स्वर्ण, उत्तिनै रजत र कांस्यका लागि प्रतिस्पर्धा भइरहेको प्रतियोगिताको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ हजार ५ सय, १ हजार र ५ सय नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता बुधबार सम्पन्न हुनेछ ।

Comment