सुजन र मारियालाई उपाधि


सुजन खड्का र मारिया थापा मगरले चौथो क्यामेलिया अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । विजेता दुवै विजेश्वरीका हुन् ।क्यामेलिया उमाविको आयोजनामा भएको प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा सुजनले कस्मिक इन्टरनेसनल एकेडेमीका सुजन खत्रीलाई ११–५, ११–२, ८–११ र ११–२ को सेटमा पराजित गरे । सेन्ट्रल पब्लिक बोर्डिङ स्कुलका पेम्बा शेर्पा र कस्मिकका सन्देश श्रेष्ठ संयुक्त रुपमा तेश्रो भए ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सिनियर गल्र्स फाइनलमा मारियाले स्वर्णिमकी स्मृति पन्तलाई ११–८, १०–१२, ४–११, ११–५ र ११–८ को सेटमा हराइन् । स्वर्णिमकैद्वय आभा पन्त र नश्ला मानन्धर तेश्रो बने ।
विजेतालाई अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य, क्यामेलियाका सञ्चालक अध्यक्ष प्रवीणलाल श्रेष्ठ र प्रिन्सिपल रुद्रमणि अधिकारीले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा विभिन्न २४ विद्यालयका ८२ खेलाडीले २ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Comment