बद्रिलाललाई उपाधि

स्याङ्गजा । स्याङ्गजा जिल्ला बुद्धिचाल संघद्धारा आयोजित धन बहादुर प्रधान स्मृति फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि बद्रिलाल नेपालीले जितेका छन् । स्वीस लिग ७ चरणको खेलमा बद्रिले ५ जित र दुई बराबरी खेलि ६ अंक जोडेका थिए । उपाधिसँगै बद्रिले ट्रफिका साथ १५ हजार रुपैया पुरस्कार पाए ।  त्यस्तै समान ६ अंक भएपनि प्रोग्रेसिव टाइब्रेकमा सिएम भुपेन्द्र निरौला दोश्रा भए । उनले  १० हजार रुपैया पुरस्कार पाए ।
लक्ष्मी स्मृति पुस्तकालयमा संचालित खेलमा चितवनका सुमित पन्त तेश्रा भए । उनले नगद ७ हजार पाए भने भक्तपुरका भेट्रान गणेशमान दुवाल चौथौं भै  ५ हजार रुपैया पाए । त्यस्तै पूर्व नेपाल च्याम्पियन नविन तण्डुकार पाँचौ, दमकका विक्रम सिंघक छैटौं, धनुषाका शुशील चौधरी सातौं, पोखराका सुनिल बहादुर कोइराला आठौं, सिन्धुलीका राजन पहाडी नवौं र कास्कीका रन्जन कुँवर दशौं भए । उनीहरुले  ३ हजार रुपैया  पुरस्कार पाए ।
चार दिने प्रतियोगितामा ११ जिल्लाका ४० जना खेलाडीहरु सहभागी थिए ।  स्याङ्गजाका विश्व पराजुलि उत्कृष्ठ पश्चिमान्चल, स्थानीयतर्फ छविलाल नेपाली उत्कृष्ठ, कृष्णकुमार राना दोश्रा, अनरेटेडतर्फ स्याङ्गजाकै प्रवेश भुजेल प्रथम भए । त्यस्तै मोहनसिंह प्रधान उत्कृष्ठ भेट्रान, निना श्रेष्ठ उत्कृष्ठ महिला, दिपिन परियुर उत्कृष्ठ जुनियर र १६८७ रेटेड प्युठानका श्रीकृष्ण श्रेष्ठ १७०० मुनी उत्कृष्ठ खेलाडी घोषित भए ।
विजयी तथा सहभागी खेलाडीहरुलाई आयोजक संघका अध्यक्ष शेरजंङ्ग अधिकारीको सभापतित्वमा एक समारोहबीच स्याङ्गजाका प्रहरी उपरीक्ष बेद बहादुर बोगटी, नेपाल बुद्धिचाल संघका उपाध्यक्ष ज्ञानेन्द्र खाइजु, समाजसेवी रत्न श्रेष्ठ लगायतले ट्रफि, प्रमाणपत्र, नगद पुरस्कार प्रदान गरे ।
Comment