चिल्ड्रेन मोडल टिम च्याम्पियन


चिल्ड्रेन मोडल स्कुल छैटौं नेशनल युनाईटेड उपत्यकाब्यापी गोजु–काई कराते च्याम्पियनसिप २०७३ को टिम च्याम्पियन भएको छ । नेशनल युनाईटेड स्कुल हात्तिगौडाको आयोजनामा भएको प्रतियोगितामा च्याम्पियन चिल्ड्रेनले ८ स्वर्ण, ६ रजत र ३ कास्यका सहित टिम च्याम्पियन भएको हो । दोश्रो भएको नवज्ञानभूमीले ३ स्वर्ण, २ रजत र ३ कास्य तथा तेश्रो भएको आयोजक नेशनल युनाईटेडले २ स्वर्ण, २ रजत र ८ कास्य पाए ।
आयोजकको आफ्नै प्राङ्गणमा भएको प्रतियोगितामा पुरुष तर्फ गणेश डोजोका नयन मगर र महिला तर्फ चिल्ड्रेन मोडलकी प्रिती वाईवा उत्कृष्ट खेलाडी घोषित भए । टिम च्याम्पियन र उत्कृष्ट खेलाडीहरुले ट्रफी प्राप्त गरे । दुई दिने प्रतियोगितामा पुरुष २० केजी तौलमा चिल्ड्रेन मोडलका विशाल तामाङ्गले नवज्ञानभूमीका दिपेश थापालाई पराजित गर्दै स्वर्ण पाए । २५ केजीमा नवज्ञानभूमीका दिवश जंग थापाले स्वर्ण प्राप्त गर्दा अनमोल ज्योतीका सुशान्त खड्काले रजत पाए । ३० केजीमा गणेश डोजोका नयन मगरले स्वर्ण र नेशनल डोजोका रोहन बरामले रजत पाए । यस्तै ३५ केजीमा विनायकका युवराज मगरले स्वर्ण र मित्रपार्क डोजोका सजित श्रेष्ठले रजत, ४० केजीमा अनमोल ज्योतीका ईश्वर बस्नेतले स्वर्ण तथा नेशनल युनाईटेडका सुशान्त के.सी.ले रजत, ४५ केजीमा चिल्ड्रेन मोडलका सागर प्रजापतीले स्वर्ण र हिन्दु शेर्पाले रजत, ५० केजीमा मित्रपार्क डोजोका राजन राईले स्वर्ण र मनोज तामाङ्गले रजत तथा ५५ केजीमा चिल्ड्रेन मोडलका प्रविन दनुवार र विवेक थापाले स्वर्ण र रजत पाए ।
पुरुष खुला तर्फ मित्रपार्क डोजोका जित बहादुर पुलामीले सरस्वती एकेडेमीका भरत सिंह बिष्टलाई पराजित गर्दै स्वर्ण हात पारे । काता तर्फ नवज्ञानभूमी डोजोका टिका राम गुरुङ्गले सरस्वती एकेडेमीका भरत सिंह बिष्टलाई पाखा लगाउंदै स्वर्ण कब्जा गरे । महिला तर्फको प्रतिस्पर्धाको २० केजी तौलमा आयोजक नेशनल युनाईटेड स्कुलकी स्मृती लामाले नवज्ञानभूमी स्कुलकी सुष्मीता लामालाई पराजित गर्दै स्वर्ण पाईन् । २५केजी तौलमा नवज्ञानभूमीकी अनुरती कार्कीले आयोजककी स्वस्तिका महर्जनलाई पाखा लगाउंदै स्वर्ण प्राप्त गरिन् । यस्तै ३० केजीमा नवज्ञानभूमीकी विविषा लामाले चाँदवागकी विपश्ना दुलाललाई पराजित गर्दै स्वर्ण हात पार्दा ३५ केजीमा आयोजक नेशनलकी अपेक्षा मगरले गोल्डेन पिककी सुप्रिया कुँवरलाई पाखा लगाउंदै स्वर्णमा नाम लेखाईन् । ४० केजीमा चिल्ड्रेनकी प्रिती वाईवाले चाँदवागकी सदिक्षा भट्टराईलाई पछाडी पार्दै स्वर्ण लिंदा ४५ केजीमा चिल्ड्रेन मोडलकै संगिता तामाङ्गले स्वर्ण पाईन् । संगिताले चिल्ड्रेनकै सिमा घर्तीलाई रजतमा खुम्च्याएकी थिईन् । ५० केजीमा पनि चिल्डे«ेनकी बाल कुमारी थामीले आफ्नै स्कुलकी थोप्तेन डिक्की लामालाई पराजित गर्दै स्वर्ण जितिन् ।
महिला खुला तर्फ चिल्ड्रेन मोडलका भावना शाही र दिपिका कार्कीले क्रमश स्वर्ण र रजत पाए भने काता तर्फ चिल्ड्रेनकै बाल कुमारी थामीले आफ्नै स्कुलकी सिमा घर्तीलाई पाखा लगाउंदै स्वर्ण हात पारिन् । बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी ओलम्पिक कमिटिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखे लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा उपत्यकाका २५ विद्यालय र डोजोका ३०० खेलाडीहरुले सहभागिता जनाएका थिए ।

Comment