बद्रिलालको एकल अग्रता

स्याङ्गजा । तीन पटकका पूर्व राष्ट्रिय विजेता बद्रिलाल नेपालीले स्याङ्गजामा जारी धनबहादुर प्रधानस्मृति खुल्ला फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा एकल अग्रता लिएका छन् । बद्रिले पाँच चरणको समाप्तिमा चार जित र एक बराबरी खेलि साढे ४ अंक बनाएका छन् । आईतबार चौथौं चरणको खेलमा बद्रि र पूर्व राष्ट्रिय विजेता भुपेन्द्र निरोलाबीचको खेल बराबरी भयो । यस्तै पाँचौ चरणमा बद्रिले धनुषाका सुशील चौधरीलाई हराए ।
स्याङ्गजा जिल्ला बुद्धिचाल संघद्धारा आयोजित प्रतियोगितामा पूर्व राष्ट्रिय विजेता नविन तण्डुकार, चितवनका सुमित पन्त, दमकका विक्रम सिंघक र पोखराका सुनिल कोइरालाले समान ४ अंक जोडेका छन् । यसैगरी सुशील, भक्तपुरका भेट्रान गणेशमान दुवाल र स्याङ्गजाका विश्व पराजुलिले समान साढे ३ अंक प्राप्त गरेका छन् । स्वीस लिग ७ चरणका खेल हुने चार दिने प्रतियोगिताका उत्कृष्ठ १८ जना खेलाडीहरुलाई कुल ८० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
Comment