केन्द्रीय मुवाथाईलाई सर्वाधिक ४ स्वर्ण


केन्द्रीय मुवाथाई क्लबले प्रधानमन्त्री कप तेश्रो राष्ट्रिय मुवाथाई च्याम्पियनसिपमा शनिबार सर्वाधिक ४ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा महिला ५५ केजीमा करुणा उप्रेती, पुरुष ६० केजीमा सागर दर्जी, पुरुष ५५ केजीमा सन्तोष मगर र पुरुष ६५ केजीमा राजिव खड्गीले केन्द्रीयलाई स्वर्ण दिलाए । फाइनलमा करुणाले एपीएफकी विनिता राई, सागरले केन्द्रीयकै विवेक गदाल, सन्तोषले काभ्रे मुवाथाई क्लबका तस्वीर लामा तथा राजिवले रेज फिट्नेसका ज्ञानदीप मल्ललाई पराजित गरे ।
नेपाल राष्ट्रिय मुवाथाई संघद्वारा आयोजित प्रतियोगितामा एपीएफ २ स्वर्णसहित दोश्रो भयो । पुरुष ५० केजीमा एपीएफका सञ्जय राईले सिन क्योकुसिनका युवराज मगर तथा ७० केजीमा एपीएफका रुपक नेपालीले क्योकुसिन बुदोकाइका अतुल श्रेष्ठलाई हराउदै पहिलो स्थान हात पारे ।
विभिन्न ७ स्पर्धा समावेश प्रतियोगिताको बाँकी १ स्वर्ण काभ्रेको पोल्टामा गयो । काभ्रेका लागि एक मात्र स्वर्ण सन्देश मानन्धरले जिते । उनले पुरुष ७५ केजीको उपाधि भिडन्तमा सातदोबाटो मुवाथाई क्लबका रविन रानाको चुनौती समाप्त पारे ।
विजेतालाई नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका धावक जितबहादुर केसी, आयोजक संघका अध्यक्ष गणेश कक्षपतिलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पुरुषको ६ स्पर्धामा ४० तथा महिलाको १ स्पर्धामा ४ गरी जम्मा ४४ खेलाडीले दुईदिने प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।

Comment