नीर र जीवनलाई उपाधि

कम्प्लिट हेल्थ क्लबका नीरविक्रम देवकोटो र जीवन आचार्यको जोडीले सातौं बबिन स्मृति पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । किङ कम स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनलमा नीर र जीवनको जोडीले देवीनगरका अनिल थाम्सुहाङ र महेश थापाको जोडीलाई २१–७ र २१–११ को सोझो सेटमा पराजित गरे । उपाधिसंगै विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार जिते । अघिल्लो संस्करणमा पनि नीरले उपाधि जितेका थिए । त्यत्तिबेला नीरका पार्टनर दिलेन्द्र पुन थिए । तेश्रो भएका नेपाल आर्मी क्लबका रुकेश महर्जन र प्रफुल्ल महर्जनको जोडीले १० हजार नगद पुरस्कार थापे । विशालनगरका रविन्द्र गुरुङ र रन्जिव राणाको जोडी चौथो भए । उनीहरुले ५ हजार ५ सय ५५ रुपैयाँ पाए ।
विजेतालाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, सांसद मोहनकुमार राई, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । माघ २२ गतेदेखि सुरु प्रतियोगितामा ३६ जोडीले प्रतिस्पर्धा गरेका थिए । मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका राष्ट्रिय फुटबलर बविनविक्रम विष्टको सम्झनामा प्रतियोगिता आयोजना गरिएको हो ।

Comment