सिमरा गोल्डकपबाट झण्डै १५ लाख बचत


सिमरा । मोफसलकै प्रतिष्ठित फूटवल प्रतियोगिता रुस्लान सिमरा गोल्डकपको आठौं संस्करणबाट १५ लाख बचत भएको छ । आयोजक नव जनजागृति युवा क्लबले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबाट १५ लाख ४० हजार बचत भएको जानकारी दिएको हो ।
प्रतियोगिता आयोजना गर्नका लागि संकलित ५५ लाख ५७ हजारबाट ४० लाख १६ हजार खर्च भएको विवरण क्लबले सार्वजनिक गरेको छ । क्लबले टिम ब्यवस्थापनका लागि २१ लाख ५६ हजार रुपैया, मैदान मर्मतमा तीन लाख ८३ हजार, प्रचारमा तीन लाख खर्च गरेको छ ।
प्रतियोगितामा टिकटबाट सात लाख रुपैया संकलन गरेको क्लबका अध्यक्ष कासिम मियाले पत्रकार सम्मेलनमा जानकारी दिए । जिल्लाकै उत्सवको रुपमा रहेको प्रतियोगिता सफल रुपमा सम्पन्न भएको भन्दै अध्यक्ष मियाले बचत रकम फूटवलको बिकासमा खर्च गरिने बताए । ‘बचत रकम विगतमा जस्तै फूटवलको बिकासमा खर्च गर्नेछौ’ मियाले भने ‘क्लबाबाट सञ्चालित सिमरा एकेडेमीबाट खेलाडी उत्पादन गर्नुनै हाम्रो मुख्य उदेश्य हो ।’
क्लबले टिकटबाट संकलित रकमको पाच प्रतिशत रकम वातावरण संरक्षणका लागि सहयोग गरेको छ । स्थानिय थानीमाई सामुदायिक बन उपभोक्ता समितिलाई ३७ हजार नौ सयको चेक पत्रकार सम्मेलनमा हस्तान्तरण गरिएको छ ।
२० देखी २९ माघसम्म आयोजना गरिएको प्रतियोगिताको उपाधी सिएमजी संकटा क्बले उचालेको थियो । बिभागिय टिम त्रिभूवन आर्मीक्लबलाई टाईब्रेकरमा ४–२ ले पराजित गर्दै उपाधी जितेको संकटाले पाच लाख ५१ हजार हात पारेको थियो । उपबिजेता आर्मीले भने दुई लाख ५१ हजार प्राप्त गरेको थियो । निरन्तररुपमा प्रतियोगिता आयोजना गर्दै आएको जनजागृति युवा क्लबले ब्यवसायिक भवन निर्माण गर्ने लक्ष्य लिएको समेत पत्रकार सम्मेलनमा क्लबका सचिव शम्भुसिंह ठकुरीले जानकारी दिए ।

Comment