खेलाडी सुविधा सुझाव कार्यदलको सिफारिस


दक्षिण एसियाली र एसियाली खेलकुदका पदक विजेता तथा ओलम्पिक खेलकुदमा सहभागी खेलाडीलाई विभिन्न क्षेत्रमा सुविधा उपलब्ध गराउन खेलाडी सुविधा सुझाव कार्यदलले युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपाली समक्ष सिफारिस गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका कार्यदलका संयोजक उपेन्द्र पौडेलले कार्यन्वयनमा जोड दिन आग्रह गर्दै सात बुँदे सुविधा उल्लेख गरिएको सिफारिस पत्र मन्त्री श्रीपालीलाई बुधबार सिंहदरबारमा हस्तान्तरण गरे ।
कार्यदलले दक्षिण एसियाली खेलकुदका स्वर्णधारी तथा एसियाली खेलकुदका पदक विजेता गरी जम्मा ११० खेलाडीहरुलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा १०० प्रतिशत तथा हवाई÷सडक यातायात र मनोरञ्जन क्षेत्रमा ५० प्रतिशत छुट, दक्षिण एसियालीमा रजत र ओलम्पिकमा सहभागी गरी जम्मा २३१ खेलाडीलाई शिक्षा र स्वास्थ्यमा ८० प्रतिशत, हवाई÷सडक यातायात र मनोरञ्जनमा ५० प्रतिशत छुट तथा दक्षिण एसियाली खेलकुदका ४४२ कांस्य विजेतालाई शिक्षा र स्वास्थ्यमा ७० प्रतिशत, हवाई÷सडक यातायात र मनोरञ्जनमा ५० प्रतिशत छुटको व्यवस्थाका लागि सिफारिस गरेको छ ।
एसियाली पदक विजेता र दक्षिण एसियालीका स्वर्ण विजेताले मासिक रुपमा पाउने प्रोत्साहन रकम ५ हजारका दरले ४ महिनाको एकमुष्ठ पाइसकेकोमा त्यसलाई नियमित बनाउने व्यवस्थाका लागि अनुरोध गरिएको छ । त्यस्तै खेलाडी अस्पतालको छुट्टै व्यवस्था, खेलकुद विश्वविद्यालय स्थापनाका लागि पहल तथा राष्ट्रिय खेलाडीका लागि विमाको व्यवस्था गर्न समेत सिफारिस गरिएको छ ।

Comment