ग्रान्ड मास्टर गुरुङ सम्मानित


वल्र्ड मार्सल आर्ट हल अफ फेमले भारतीय तेक्वान्दोका संस्थापक ग्रान्ड मास्टर आठौं डान पुरन एन्ड्रियु गुरुङलाई मंगलबार नगदसहित सम्मान गरेको छ । नेपाल पारा तेक्वान्दो संघका अध्यक्ष जनार्जन ढुंगेलले गुरुङलाई नगद १० हजारसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
मलेसियाको क्वालालम्पुरमा जन्मिएका गुरुङले तेक्वान्दो भन्दा पहिले ९ वर्षको उमेरमा जुडो खेल्न सुरु गरेका थिए । ११ वर्षको उमेरमा मलेसिया जुनियर जुडो च्याम्पियन बनेका गुरुङले १९६७ देखि तेक्वान्दो खेल्न थालेका हुन् ।
गुरुङले तल्कालिन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव स्व. शरदचन्द्र शाहको आग्रहमा करिब ३ वर्ष नेपाली राष्ट्रिय तेक्वान्दो टोली पनि सम्हालेका थिए । १९८६ मा दक्षिण कोरियाको सिओलमा भएको १० औं एसियाली खेलकुदमा ८ नेपाली तेक्वान्दो खेलाडी सहभागी हुँदा गुरुङ प्रशिक्षक थिए । त्यो एसियाडमा विधान लामा, राजकुमार राई, राजकुमार घर्ती क्षेत्री र राजकुमार बुढाथोकीले कांस्य जितेका थिए ।
‘मलाई सम्झेर सम्मान गर्नु भएकोमा आयोजकलाई धन्यवाद दिन चाहन्छु । नेपाली तेक्वान्दोको स्तर राम्रो छ । खेलाडीले उचित वातावरण पाए अझ धेरै राम्रो गर्न सक्छन् । ’ हाल भारतको नयाँ दिल्लीमा बसोबास गर्दै आएका ६८ वर्षीय गुरुङले भने ।
पारा तेक्वान्दो संघका अध्यक्ष ढुंगेलले तेक्वान्दोका अग्रजलाई सम्मान गर्न पाउदा गर्व महसुश भएको बताउदै गुरुङले नेपाली तेक्वान्दोमा लगाएको गुन विर्सन नहुने बताए ।

Comment