नेपाली तेक्वान्दो टोली अन्र्तराष्ट्रिय च्याम्पियनसिपका लागि प्रस्थान गर्दै


संयुक्त अरब इमिरेट्स (युएई) मा हुने पाँचौ फुजैराह अन्र्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने नेपाली तेक्वान्दो टोलीलाई विदाई गरिएको छ । युएईको फुजैराह शहरस्थीत फुजैराह मार्शल आर्ट केन्द्रमा फेब्रुअरी २३ देखि २७ सम्म हुने च्याम्पियनसिपमा सहभागी हुने १० खेलाडी र एक प्रशिक्षकको विदाई गरिएको छ । मंगलबार आयोजित एक कार्यक्रममा त्रिपुरेश्वरस्थीत नेपाली राष्ट्रिय तेक्वान्दो टोलीको प्रशिक्षण केन्द्रमा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोख्रेलले खेलाडी तथा प्रशिक्षकलाई विदाई गरे । उनिहरु बुधबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
टोलीको हेड अफ टिम समेत रहेका रोशन खानले नेपाली टोलीको प्रशिक्षण गर्नेछन् । युएई तेक्वान्दो संघ तत्वावधानमा हुने प्रतियोगितामा ९ खेलाडीले सिनियर र एक खेलाडीले जुनियरतर्फको फाइटमा प्रतिस्पर्धा गर्नेछन् । पुरुषको सिनियर फाइटतर्फ ८० केजीमुनि धन बहादुर दराई,७४ केजीमुनि सुदिप गीरी,८७ केजीमुनि रन्जित महत्तो ,६८केजीमुनि गोकुल अधिकारी,६३ केजीमुनि मोहम्मद कलिम उल्लाह,५८ केजीमुनि शिसीर श्रेष्ठ र पुरुषकै जुनियरतर्फको ४८ केजीमुनि मोहम्मद उमर खानले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् ।
महिलाको सिनियर फाइटमा ५३ केजीतौल समुहमुनि सुस्मीता थापा,४९ केजीमुनि पार्वती गुरुङ र ४६ केजीमुनि अनुमा तामाङले प्रतिस्पर्धा गर्नेछन् । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोख्रेलले टोलीलाई सफलताको शुभकामना दिदै सारा नेपालीको भरोसा र आशा तेक्वान्दो रहदै आएकाले त्यसलाई थप प्रमाणित गर्न पनि उच्च सफलता हासिल गर्न अनुरोध गरे ।

Comment