पेम्बा र मेरिशालाई स्वर्ण

प्यारागनका पेम्बा लामा र कोटदेवीकी मेरिशा तामाङ्ग प्रथम उपत्यकाव्यापी अन्तरस्कुल ब्याडमिन्टन च्याम्पियनसिप २०७३ अन्तरगत कक्षा ९ मुनीमा स्वर्ण हात पार्न सफल भएका छन् । पेम्बाले छात्र तर्फको खेलमा नेशनल चिल्ड्रेनका दिशान शाक्यलाई फाईनलमा पराजित गर्दै स्वर्ण हात पार्न सफल भएका हुन् । कोटदेवीका अश्विन श्रेष्ठ र हिमालयन स्कुलका प्रमोद पाण्डेले कास्य पाए । यस्तै छात्रा तर्फ कोटदेवीकी मेरिशाले आफ्नै स्कुलकी सिया साउदलाई पाखा लगाउंदै स्वर्णमा आफ्नो नाम लेखाईन् । श्रीकुल स्कुलकी निता राई र निहारिका स्कुलकी सिवानी स्याङ्गतान तेश्रो स्थानमा रहे ।
ब्याडमिन्टन एकेडेमी नेपालको आयोजनामा पहिलो पटक आयोजना भएको च्याम्पियनसिपमा कक्षा ७ मुनीको छात्र तर्फ मेघा स्कुलका सहज शाक्यले स्वर्ण प्राप्त गर्दा बाल विकास स्कुलका समयक शाक्यले रजतमा चित्त बुझाए । तेश्रो स्थानमा मेघाका सुजल शाक्य र रविन महर्जन रहे । छात्रा तर्फ सत्प्रज्ञा स्कुलकी अन्जली गुरुङ्गले श्रीकुलकी विनु तामाङ्गलाई पछि पार्दै स्वर्ण प्राप्त गरिन् । अनमोलज्योतीकी किरण खनाल र श्रीकुलकी प्रिती यादव कास्यमा खुम्चिए ।
स्कुल स्तरबाटनै ब्याडमिन्टन खेलको विकास गर्ने उद्धेश्यले आयोजित च्याम्पियनसिपको कक्षा ५ मुनीको छात्र तर्फको प्रतिस्पर्धामा क्यास्पियन स्कुलका योगान्त महर्जनले स्वर्ण प्राप्त गरे । विद्या संस्कारका सुकाम महर्जनले रजत तथा श्रीकुलका उज्जल राई र निहारीका स्कुलका अनिश श्रेष्ठले कास्य पाए । यस्तै सोही विधाको छात्रा तर्फ निहारीकाकी अलिना बुढाथोकीले स्वर्ण र कृपा शाक्यले रजत तथा अनमोलज्योतीकी सुमिकान राइृ र मुनलाईटकी सुमिना रौनियारले कास्य पाए ।
विजयी खेलाडीहरुलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए । स्कुल स्तरबाटनै खेलाडीहरुलाई प्रशिक्षण प्रदान गर्ने र खेलाडीहरुलाई ब्याडमिन्टन खेल प्रति आकर्षित गर्दै उनीहरुमा रहेको प्रतिभालाई प्रतिस्पर्धा मार्फत उजागर गर्ने उद्धेश्यले ब्याडमिन्टन खेलको ईतिहासमै पहिलो पटक ब्याडमिन्टन एकेडेमी नेपालले प्रतियोगिता आयोजना गरेको एकेडेमीका अध्यक्ष एवं नेपाल ब्याडमिन्टन संघका सचिव ज्ञानेन्द्र सिपाईले जानकारी गराए । दुई दिने प्रतियोगितामा उपत्यकाका १८ विद्यालयका ११९ खेलाडीहरुको सहभागिता रहेको थियो ।

Comment