पुलिसलाई पाथिभरा भलीबलको उपाधि


सर्वाधिक पुरस्कार रासीको दोश्रो पाथिभारा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले उचालेको छ । शनिवार भएको अन्तिम लिग खेलमा पुलिसले आर्मीमाथी ३–२ को रोमाञ्चक जित निकाल्यो । भानु जन माबीमा भएको खेलमा आर्मीले पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारे पनि कुलबहादुर थापा र चन्द्रवहादुरको उत्कृष्ट प्रदर्शनमा पुलिसले खेलमा पुनरागमन गदै लगातर दोश्रो र तेश्रो सेट २५–१५ र २५–२० ले आफ्नो पक्षमा पारेको थियो । चौथो सेटमा आर्मीले २०–२२ को अवस्थालाई उल्टाउदै लगातार ५ अंक जोडेर २५–२२ ले सेट जित्यो । आर्मीले पाँचौ सेटमा ८–५ को अग्रतामा कोर्ट परिवर्तन गरेको थियो । कुलवहादुर थापा र चन्द्रवहादुर कुवँरको उत्कृष्ट प्रदर्शनमा खेलमा फर्किएको पुलिसले लगातार ५ अंक बडुलेर १०–८ को अग्रता लिएको थियो । त्यस पश्चात आर्मीले १ अंक जोड्दा पुलिसले आफ्नो अंक तालिकामा ५ अंक जोड्दै १५–११ ले नतिजा आफ्नो पक्षमा पार्यो । राउण्ड रोविन लिगका आधारमा खेल सञ्चालन भएको प्रतियोगितामा पुलिस ४ खेलबाट १२ अंक जोड्दै शिर्ष स्थानमा रहन सफल भयो । दोश्रो स्थानमा रहेको आमी ४ खेलबाट ९ अंकमा सिमित भयो ।
आफ्नो अन्तिम लिग खेलमा एपीएफले पूर्वाञ्चललाई २५–१३,२५–१८ र २५–८ ले हराउदै तेश्रो स्थानमा रहन सफल भयो । एपीएफले ४ खेलबाट ६ अंक जोडेको छ । पूर्वाञ्चलले ४ खेलबाट २ अंक जोड्न सफल भयो । मध्यामञ्चल ४ खेलबाट १ अंकमा सिमित भयो । प्रतियोगिताको विजेताले तीन लाख ३० हजार र उपविजेताले एक लाख ६५ हजार नगद प्राप्त गरे । यसैगरी तेस्रो र चौथो वरीयतामा आउने टोली एपीएफ र पूर्वाञ्चलले ३५÷३५ हजार सान्त्वना पुरस्कार हात पारे ।प्रतियोगितामा पुलिसका स्पाईकर कुलवहादुर थापा सर्वोकृष्ट खेलाडि चुनिए । उनले १० हजार रुपैया प्राप्त गरे । विधागततर्फ उत्कृष्ट स्पाइकर पुलिसका चन्द्रवहादुर कुवँर, उत्कृष्ट सेटर पुलिसका इम रानामगर, उत्कृष्ट ब्लकर आर्मीका हरि अधिकारी, उत्कृष्ट डिफेन्स आर्मीका इश्वर थापामगर र उत्कृष्ट सर्भर आर्मीका हरिहजुर थापा चुनिए । उनिहरुले पाँच हजार नगद प्राप्त गरे । प्रतियोगिताका बिजेता टिमलाई सभासद् भुपेन्द्र थेबे,प्रमुख जिल्ला अधिकारी,मुख्य प्रायोजक इश्वरी पौडेल,बलबहादुर तामाङलगायतले पुरस्कृत गरे ।
प्र्रतियोगितामा पाचँ टोलीको सहभागिता रहेको थियो । प्र्रतियोगिताको पहिलो संस्करण पूर्वाञ्चल क्षेत्रीय स्तरमा सम्पन्न भएको थियो । उक्त संस्करणमा ओखलढुंगा भलिबल संघ पहिलो, भोजपुर जिल्ला भलिबल संघ दोस्रो र शंखुवासभा जिल्ला भलिबल संघ तेस्रो भएका थिए । पहिलो, दोस्रो र तेस्रो हुने टोलीले क्रमशः दुई लाख ५० हजार, एक लाख ५५ हजार र एक लाख एक हजार रुपैयाँ पुरस्कार पाएका थिए । प्रतियोगिता ताप्लेजुङमा रहेको प्रसिद्ध शक्तिपिठ पाथीभरा माताको नाममा आयोजना गरिएको हो ।

Comment