सगरमाथा अन्तर्राष्ट्रिय करातेमा नेपाल च्याम्पियन

nepal chmpion

नेपालले प्रथम सगरमाथा खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । टिम च्याम्पियन नेपालले २५ स्वर्ण, २५ रजत र ४३ कांस्य जितेको आयोजक नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो नक्सालका प्रमुख एवं प्रतियोगिता संयोजक ईश्वर थापा (गजेन्द्र) ले जनाएका छन् । नेपालबाट लैनचौर डोजो टिमले सर्वाधिक ८ स्वर्ण प्राप्त ग¥यो ।

पाहुना टोली बंगलादेश दोश्रो र भारत तेश्रो भए । बंगलादेशले १ स्वर्ण, १ रजत र ४ कांस्य जित्यो । भारतले १ स्वर्ण, १ रजत र ३ कांस्य हात पा¥यो ।
प्रतियोगिताको पुरुषमा नेपालका कृतिश पोखरेल र महिलामा बंगलादेशकी प्रिया अख्तर उत्कृष्ट खेलाडी चुनिए । प्रियाले बंगलादेशलाई स्वर्णविहीन हुनबाट जोगाइन् ।नक्सालस्थित स्टार भेन्यु पार्टी प्यालेसमा भएको प्रतियोगिताको पुरुष ३५ केजीमा सागर कार्की, ४० केजीमा पेम्बा छिरिङ शेर्पा, ५० केजीमा सोनाम लामा, ४५ केजीमा अनिश लामा, ५५ केजीमा सुजन श्रेष्ठ र ६० केजीमा राजिव त्रिपाठीले नेपालका लागि स्वर्ण जिते ।

महिलाको २७ केजीमा पुष्पकला लामा, ३० केजीमा मनीषा दोङ, ३५ केजीमा मन्दिरा थापा, ४५ केजीमा मोनिका योञ्जन, ६१ केजीमा मिङमार तामाङ तथा ६८ केजीमा सिर्जना सापकोटाले नेपाललाई स्वर्ण दिलाए । भारतबाट एक्ली स्वर्ण विजेता वैशाली प्रधानले ९–१० वर्ष उमेरसमूहमा पहिलो स्थान हात पारिन् ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा २७ स्वर्ण, २७ रजत र ५० कांस्य गरी १ सय ४ पदकका लागि भिडन्त भएको थियो । आयोजकका अनुसार दुईदिने प्रतियोगितामा नेपाल, बंगलादेश र भारतका ४ सय ९७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Comment