प्रथम काजीपोखरी खुल्ला पुरुष बास्केटबल रनिङशिल्डको तयारी पूरा


पोखरा
काजीपोखारी युथ क्लब पोखरा–१८ काजीपोखरीको आयोजनामा शनिबारदेखि प्रथम काजीपोखरी खुल्ला पुरुष बास्केटबल रनिङशिल्ड–२०७१ सुरु हुँदैछ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
क्लबकै बास्कटेबल मैदानमा हुने प्रतियोगिताको उद्घाटन शनिबार बिहान १० बजे पूर्व सभसद्, उद्योगपति एवं हिमश्री फूड्स प्रालिका कार्यकारी अध्यक्ष सूर्यबहादुर केसीले गर्ने क्लबका अध्यक्ष जितेन्द्रजंग थापाले जानकारी दिए।

शनिबार तीन खेल हुनेछ। जसअनुसार आयोजक काजीपोखरी युथ क्लब र एनएमवाईसीबीच बिहान ११ बजे उद्घाटन खेल हुने खेल संयोजक एवं क्लबका सचिव दीपककुमार गुरुङले जानकारी दिए।
पुस १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २२ टीमको सहभागिता रहेको छ। क्लबका सदस्य रजत गुरुङको स्मृतिमा राखिएको सो प्रतियोगितामा विजेता टीमलाई नगद ३५ हजार, रनिङशिल्ड तथा उपविजेतालाई नगद २० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै बेस्ट प्लयेर र हाइस्कोररलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने छ।
पत्रकार सम्मेलनमा कास्की जिल्ला बास्केटबल सङ्घका अध्यक्ष नेत्रबहादुर सेनले खुल्ला बास्केटबल प्रतियोगिताको आयोजना गरेर क्लबले राम्रो काम गरेको बताए। उनले अनुशासन नै खेलाडीको सफलतालको पहिलो खुड्किलो भएकोले यसलाई ध्यानमा राखेर खेले हरेक ठाउँमा सफलता हात लाग्ने बताए।
राष्ट्रिय खेलाडी समावेश नगरिने प्रतियोगिता सञ्चालन गर्न करिब चार लाख ५० हजार लाग्ने अनुमान गरिएको छ।

Comment