मृत्युञ्जय सेमिफाइनलमा


सर्किट– १ का विजेता भारतका मृत्युञ्जय बदोला नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट– २ को पुरुष सिंगल्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीसंगै दुई भारतीय खेलाडी तीर्थ शशांक मार्चेला र आर्यन जाभेरी तथा चीनका पेनग्यु लु पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे । मृत्युञ्जयले भारतकै पीयुष सुरेन्द्र सलेकरलाई ४–६, ६–२ र ६–०, तीर्थले पोल्यान्डका मिचल वोज्नियकलाई ६–३ र ७–५, आर्यनले भारतका कबिर मनरायलाई ६–४, १–६ र ६–३ तथा पेनग्युले भारतका अथर्व शर्मालाई ६–२ र ६–१ को सेटमा पराजित गरे ।
महिला सिंगल्समा चीनकी युजिआओले थाइल्यान्डकी पुन्निन् कोभापितुक्टेडलाई ७–६ (६) र ६–३, भारतकी शिभानी स्वरुप इङलेले चीनकी जिङ याङलाई ७–६ (४) र ६–३, सर्किट– १ की च्याम्पियन भारतकी वैदेही चौधरीले भारतकै भक्ति शाहलाई ६–४ र ६–४ तथा चीनकी मिङक्यु याङले चीनकी ना दोङलाई ६–३, १–६ र ६–२ ले हराउदै सेमिफाइनल यात्रा तय गरे ।
महिला डबल्समा भारतका वैदेही चौधरी र शिभानी स्वरुप इङलेको जोडीले चीनका झोङयु लि र जिङ याङको जोडीलाई ६–३ र ६–२ तथा चीनका युजिआओ छे र जिङयी वाङको जोडीले थाइल्यान्डकी पुन्निन् कोभापितुक्टेड र जापानकी मियो कोजाकीको जोडीलाई ६–४, ०–६ र १०–७ को सेटमा पाखा लगाउदै फाइनलमा स्थान पक्का गरे ।
पुरुष डबल्समा भारतका आदित्य ऐयर र पीयुष सुरेन्द्र सलेकर तथा भारतकै सर्किट– १ का विजेता गुन्जन जाधव र अथर्व शर्माको जोडी फाइनलमा पुगे । विजेता दुवै जोडीका प्रतिद्वन्द्वीले ‘मेडिकल’ समस्याका कारण खेल त्यागेको आयोजक अखिल नेपाल लनटेनिस संघले जनाएको छ ।

Comment