नेपाली खेलाडीको चुनौती समाप्त


नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट– २ मा नेपाली खेलाडीको चुनौती समाप्त भएको छ । बुधबार नेपालका प्रेरणा कोइराला, माहिका राणा र संरक्षकभूषण वज्राचार्यको पराजयसंगै नेपालको चुनौती समाप्त भएको हो । सर्किट– २ मा नेपालबाट ९ पुरुष र ९ महिला गरी १८ खेलाडीले सिंगल्स र डबल्समा प्रतिस्पर्धा गरेका थिए । प्रेरणा, माहिका र संरक्षक बाहेक कुनैपनि नेपाली खेलाडी दोश्रो चरणमा पुग्न सकेनन् । डबल्समा भने नेपाली खेलाडी जितविहीन रहे ।
यसअघि सम्पन्न सर्किट– १ मा दुई नेपाल खेलाडी मात्र दोश्रो चरणमा पुग्न सफल भएका थिए । मायांका राणा र रेन्जन लामाले पुरुष सिंगल्समा जित हात पार्दै पहिलो चरण पार गरेका थिए । दुवै खेलाडी त्यहाँबाट अगाडि बढ्न सकेका थिएनन् । सर्किट– १ मै पुरुष डबल्समा संरक्षकले हङकङका खेलाडीसंग मिलेर पहिलो चरणमा जित हात पार्न सफल भएका थिए । सातदोबाटोस्थित टेनिस कोर्टमा थाइल्यान्डकी पुन्निन् कोभापितुक्टेडले नेपालकी प्रेरणालाई ६–० र ६–० तथा भारतकी भक्ति शाहले नेपालीकी माहिकालाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गरे । पुरुष सिंगल्समा नेपालका संरक्षक भारतका पीयूष सुरेन्द्र सलेकरसंग ६–४ र ६–४ ले चुके ।
महिला सिंगल्सको अन्य खेलमा सर्किट– १ की विजेता भारतकी वैदेही चौधरीले चीनकी जोङयु लिलाई ४–६, ६–२ र ६–३, चीनकी युजिआओ छेले भारतकी माल्भिका शुक्लालाई ६–२, ३–६ र ६–२, चीनकी जिङ याङले भारतकी गौरी भग्तालाई ६–२ र ६–१, चीनकी मिङक्यु याङले भारतकी अन्निका कनानलाई ६–४ र ६–०, भारती शिभानी स्वरुप इङलेले चीनकी छुन्झी गुओलाई ६–१ र ६–१ तथा चीनकी ना दोङले भारतकी किरण कलकललाई ६–० र ६–० को सेटमा पराजित गरे ।
पुरुष सिंगल्सको बाँकी खेलमा भारतका तीर्थ शशांक मर्चेलाले चीनका ग्वाङलिन वेनलाई ६–१ र ७–६ (६), पोल्यान्डका मिचल वोज्नियकले भारतका जैश्विन सिदानालाई ३–१ (रिटायर्ड हर्ट), भारतका कविर मनरायले भारतका अचिन्त भगतलाई ६–१ र ६–१ ले तथा चीनका पेनग्यु लुले भारतका आदित्य ऐयरलाई ६–२ र ७–५ ले हराए । भारतका अथर्व शर्माले भारतकै वंश भग्तानीलाई ६–४ र ६–४, भारतका आर्यन जाभेरीले आफ्नै राष्ट्रका दीपिन वाध्वालाई ६–३ र ६–३ तथा सर्किट– १ विजेता मृत्युञ्जय वदोलाले भारतकै इशान सेठीलाई ६–१ र ६–० ले पाखा लगाए । पुरुष÷महिला सिंगल्सका सबै विजेता क्वाटरफाइनलमा पुगेका छन् ।
अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला डबल्समा भारतका वैदेही चौधरी र शिभानी स्वरुप इङले, चीनका जोङयु लि र जिङ याङ, थाइल्यान्डकी पुन्निन् कोभापितुक्टेड र जापानकी मियो कोजाकी तथा चीनका युजिआओ छे र जिङयी वाङको जोडीले सेमिफाइनल यात्रा तय गरे ।
सोही स्पर्धाको पुरुषमा भारतका आदित्य ऐयर र पीयूष सुरेन्द्र सलेकर, जापानका रिओ लिजुमी र चीनका ग्वाङलिन वेन, सर्किट– १ का उपाधि विजेता जोडी भारतका गुन्जन जाधव र अथर्व शर्मा तथा चीनका पेनग्यु लु र ग्वाङसेन वेनको जोडी आ–आफ्नो प्रतिद्वन्द्वीलाई पन्छ्याउदै सेमिफाइनलमा पुग्न सफल भए ।

Comment