माउन्ट कैलाश र एचएचसीए उपाधि नजिक


पाँचौं नेरिक अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा माउन्ट कैलाश स्कुल र एचएचसीए उपाधि नजिक पुगेका छन् । शंखमूलस्थित आयोजक नेरिक इन्टरनेसनल स्कुलको कोटमा मंगलबार भएको सिनियर छात्रको खेलमा नेरिकलाई एक प्वाइन्टको झिनो अन्तरले हराउँदै माउन्ट कैलाश उपाधि नजिक पुगेको हो । अत्यन्त प्रतिस्पर्धात्मक खेलमा माउन्ट कैलाशले नेरिकलाई ४१–४० स्कोरले स्तब्ध बनायो । माउन्ट कैलाशलाई जित दिलाउन मिङ्मार छिरिङले १७ स्कोर गरे ।
मंगलबार नै भएको दोस्रो सेमिफाइनलमा एचएचसीएले ग्रीनफिल्डलाई ४७–२२ स्कोरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । एचएचसीएलाई विजयी बनाउन विशाल राईले १५ स्कोर गरे ।
जुनियर छात्रतर्फ ग्रीनल्यान्ड र सेब उपाधिका लागि भिड्ने भएका छन् । मंगलबार भएको सेमिफाइनलमा जित हात पार्दै दुवै टोली उपाधि नजिक पुगेका हुन् । ग्रीनल्यान्डले आयोजक नेरिकलाई २२–२२ ले स्तब्ध बनाउँदा इन्द्र तामाङले १५ स्कोर गरे । यस्तै सेबले एन्जल लर्डलाई २१–१६ ले हराउँदा बाबुराम पुनले १६ स्केर गरे । फाइनल खेल बुधबार हुनेछ ।
पाँचौं संस्करणको प्रतियोगितामा सिनियर र जुनियर छात्रमा १२÷१२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताले ट्रफी र मेडलसहित नगद १० हजार प्राप्त गर्नेछ भने उपविजेताले नगद पाँच हजारसहित ट्रफी प्राप्त गर्नेछ ।

Comment