थाइल्यान्डकी पुन्निन् दोश्रो चरणमा

थाइल्यान्डकी पुन्निन् कोभापितुक्टेड नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट– २ को महिला सिंगल्समा मंगलबार दोश्रो चरणमा प्रवेश गरेकी छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा पुन्निन्ले जापानकी मिओ कोजाकीलाई ६–० र ६–१ को सोझो सेटमा सहजै पराजित गरिन् । सोही स्पर्धाको अन्य खेलमा भारतकी किरण कलकलले नेपालकी अभिलाषा विष्टलाई ६–१ र ६–१, भारतकी गौरी भग्ताले नेपालकी इरा रावतलाई ६–१ र ७–६ (१) तथा चीनकी मिङक्यु याङले भारतकी यशस्वनी पन्वारलाई ६–२ र ६–२ को सेटमा हराउदै दोश्रो चरणमा पुगे ।
अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्समा चीनका ग्वाङलिन वेनले भारतका आदित्य सत्पाथीलाई ५–७, ६–३ र ६–३, भारतका दीपिन वाध्वाले युकेका कायल स्टोकरलाई ७–६ (२) र ६–४, भारतका इशान सेठीले नेपालका सम्यकभूषण वज्राचार्यलाई ६–० र ६–० तथा भारतका आदित्य ऐयरले भारतकै अर्णव पठाङ्गेलाई ६–३ र ६–३ को सेटमा पाखा लगाए ।
महिला डबल्समा भारतका अन्निका कनान र जान्भी पटेल, चीनका झोङयु र जिङ याङ, भारतका गौरी भग्ता र माल्भिका शुक्ला, थाइल्यान्डकी पुन्निन् कोभापितुक्टेड र जापानकी मिओ कोजाकी, चीनकी युजिआओ र जिङयी वाङ, भारतका रिचा दादासाहेब छौगुले र किरण कलकल तथा चीनकी झुन्छी गुओ र भारतकी मिशा सुदको जोडी क्वाटरफाइनलमा पुगे ।
पुरुष डबल्समा भारतका तीर्थ मार्चेला र कविर मनराय, भारतका अर्णव पठाङ्गे र आर्यन पठाङ्गे, भारतका गुन्जन जाधव र अथर्व शर्मा, चीनका पेनग्यु लु र ग्वाङसेन वेन, अमेरिकाका अर्जुन मारियाप्पा र थाइल्यान्डका माइकल माथायोम्चन्दधको जोडी क्वाटरफाइनल यात्रा तय गर्न सफल भयो । भारतका आदित्य ऐयर र पीयूश सुरेन्द्र सलेकर, जापानका रियु लिजुमी र चीनका ग्वाङलिन वेन तथा युकेका कायल स्टोकर र पोल्यान्डका मिचल वोज्नियकको जोडीले क्वाटरफाइनल यात्रा तय गरे ।

Comment