विशेष बिद्यालय खेलकुद फागुन तेश्रो साता

“२२ औं विशेष बिद्यालयस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता –२०७३ फागुन १७ र १८ गते हुने भएको छ । प्रतियोगिताको उद्घाटन माननीय युवा तथा खेलकुद मन्त्रीले गर्ने कार्यक्रम रहेकोछ । एथलेटिक्सलाई मात्र समावेश गरिएको प्रतियोगितामा ३८ स्वर्ण पदकका लागि उपत्यका र बाहिरका गरि कुल २८८ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने प्रतियोगिता तथा योजना विभागद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ । बिज्ञप्तीका अनुसार प्रतियोगितामा ७४ अफिसियलहरुको समेत सहभागिता रहनेछ । यस बर्षको प्रतियोगितामा नेपाल दृष्टिविहिन कल्याण संघ, नेपाल अपाङ्ग संघ र बहिरा क्षेत्रका खेलाडीहरुलाई मात्र समावेश गराईने प्रतियोगिता तथा योजना विभागका निमित्त प्रमुख मिन कुमार शर्माले जानकारी गराए ।
प्रमुख शर्माका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुन खेलाडीहरुले क्रमशः १५ सय, १ हजार र ५ सय नगद पुरस्कार गरि कुल १,२०,०००÷– को पुरस्कार रकमका साथै खेलाडीहरुलाई आतेजाते गाडी भाडा, ट्रयाकसुट तथा खानाको व्यवस्था समेत गरिएको छ ।
प्रतियोगितालाई व्यवस्थित र मर्यादित बनाउनको लागि राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष सुरेन्द्र हमालको संयोजकत्वमा ९ सदस्यीय प्रतियोगिता आयोजक कमिटि समेत गठन गरिएको छ । जसमा राष्ट्रिय खेलकुद परिषदकी सदस्य याम कुमारी गुरुङ्ग “अस्मीता” सह–संयोजक र सचिवमा दीपक कोईराला रहेका छन् ।
अनुमानित २५ लाखको बजेट लागत रहेको प्रतियोगिताको लागि २० लाख निकासा भईसकेको समेत प्रमुख शर्माले जानकारी गराए ।

Comment