पोखरा पिस क्रिकेटकपको उपाधी बालुवाटार क्रिकेट क्लवलाई

पोखरा । पोखरा पिस क्लवद्वारा आयोजित दशौं संस्करणको पोखरा पिस क्रिकेट कप २०७३ को उपाधी बालुवाटार क्रिकेट क्लव काठमाण्डौले चुमेको छ । शनिवार सम्पन्न फाइनल खेलमा चितवनको क्रिकेट एशोसिएशन अफ चितवन एकेडेमीलाई ७ विकेटले पराजित गरी काठमाण्डौको बालुवाटार क्रिकेट क्लवले उक्त उपाधि जितेको हो ।
फाइनल खेलमा चितवनको क्रिकेट एशोसिएशन अफ चितवन एकेडेमी ११ ले टस जितेर पहिले ब्याटिङ गरेको उक्त प्रतियोगितामा पूरा २० ओभर खेलेर ८ विकेटको क्षतिमा १ सय ५ रनको योगफल तयार पारेको थियो । १०६ रनको सामान्य योगफल पछ्याएको बालुवाटार क्रिकेट क्लवले १७ ओभरमा आफ्नो ३ विकेट गुमाएर लक्ष्य हासिल गरेको थियो ।
चितवनका लागि आकाश थापाले ४० र सुशील कँडेल र किशोर महतोले ले समान २२ रनको योगदान दिएका थिए । बालुवाटार क्रिकेट क्लवका यज्ञमान कुमालले ह्याट्रिक सहित ४ विकेट र सुनिल लामाले २ विकेट लिएका थिए ।
बालुवाटार क्रिकेट क्लवका रोहित पौडेलले २५ रन, सोनु तामाङले २४ र सुनिल लामाले १७ रन बनाएका थिए । चितवनका तर्फबाट सुशील कँडेल, प्रदीप खरेल र किशोर महतोले समान १।१ विकेट लिएका थिए । उक्त खेलको म्यान अफ दी म्याच बालुवाटार क्रिकेट क्लवका यज्ञमान कुमाल घोषित भए ।
प्रतियोगिताभर सर्वाधिक छक्का हान्ने खेलाडी बालुवाटारका सोनु तामाङ, सर्वाधिक विकेट लिने बालुवाटारकै सुनिल लामा भए भने सर्वाधिक रन बनाउने खेलाडी चितवनका आकाश थापा भएका थिए । प्रतियोगिताको म्यान अफ दी टुर्नामेन्ट बालुवाटारका सोनु तामाङ भए ।
प्रतियोगिताको विजेता र उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथि व्यवस्थापिका संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले नगद ७० हजार, प्रमाणपत्र र ट्रफी, द्वितीय हुने टिमलाई नगद रु.३० हजार, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि व्यवस्थापिका संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले क्रिकेट खेलको विकासका लागि सबै आ–आफ्नो ठाउँबाट एकजुट भई लाग्नुपर्ने बताउँदै प्रतियोगितामा विजेता तथा उपविजेता टोलीलाई बधाई ज्ञापन गरेका थिए । उक्त प्रतियोगिता क्लवका निवर्तमान अध्यक्ष तथा सल्लाहकार दामोदर बरालको संयोजकत्वमा भएको थियो ।
संस्थाका अध्यक्ष सुजन बरालको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको संचालन सचिव प्रताप आचार्यले गरेका थिए ।

Comment