मृत्युञ्जय र वैदेहीलाई उपाधि


मृत्युञ्जय बदोला र वैदेही चौधरीले नेपाल आईटीएफ जुनियर यु–१८ (ग्रेड– ५) सर्किट १ टेनिस च्याम्पियनसिपमा शनिबार च्याम्पियन बनेका छन् । भारतकाद्वय सिंगल्सतर्फ क्रमशः पुरुष र महिलामा पहिलो भएका हुन् ।
अखिल नेपाल लनटेनिस संघको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा मृत्युञ्जयले आफ्नै राष्ट्रका कविर मनरायलाई ६–४ र ७–५ ले पराजित गरे ।
महिला सिंगल्समा भने वैदेहीकी प्रतिद्वन्द्वी चीनकी मिङक्यु याङ रिटायर्ड हर्ट भएपछि वैदेहीले सहज रुपमा उपाधि हात पार्न सफल भइन् ।
अघिल्लो दिन शुक्रबार डबल्सको पुरुषमा भारत गुन्जन जाधव र अथर्व शर्मा तथा महिलामा चीनकी छुन्झी गुओ र थाइल्यान्डकी पुन्निन् कोभापितुक्टेडको जोडीले उपाधि जितेका थिए ।
विजेतालाई आयोजक अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सर्किट १ मा विभिन्न ११ राष्ट्रका खेलाडी सहभागी भएकोमा नेपालबाट १० पुरुष र ७ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा नेपाली खेलाडीको ठूलो उपलब्धी भनेको सिंगल्सको महिलामा मायांका राणा र पुरुषमा रेन्जन लामा तथा पुरुष डबल्समा संरक्षकभूषण वज्राचार्यले पहिलो चरण पार गर्नु रह्यो । संरक्षकका पार्टनरमा हङकङका खेलाडी थिए ।
अब सोमबारदेखि सुरु हुने सर्किट २ का लागि शनिबारैदेखि क्वालिफाइङ राउन्ड सुरु भएको छ । त्यसमा समान ९–९ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

Comment