संकटालाई सिमरा गोल्डकपको उपाधी


सिमरा । त्रिभूवन आर्मी क्लबलाई टाईब्रेकरमा हराउर्दै सिएमजी संकटा क्लबले रुस्लान सिमरा गोल्डकपको आठौं संस्करणको उपाधी जितेको छ । सिमरा रंगशालामा शनिवार भएको अन्तिम भिडन्तमा आर्मीलाई टाईब्रेकरमा ४–२ ले पराजित गर्दै संकटाले गोल्डकपको उपाधी उचालेको हो ।
उपाधीसंगै संकटाले ट्रफिसहित पाच लाख ५१ हजार नगद हात पारेको छ । उपबिजेता आर्मीले भने दुइ लाख ५१ हजार चित्त बुझाएको छ । रोमाञ्चकल फाईनलमा भिडन्तको निर्धारित समयमा दुबै टिमले १–१ को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि निर्णायक गोल हुन नसकेपछि नजिता टाईब्रेकरबाट निकालिएको हो ।
टाईब्रेकरमा संकटाका लागि राज पौडेल, अनिल गुरुङ, अमित तामाङ र कुलदिप कार्कीले गोल गरेका थिए । संकटाका बिश्व अधिकारीको प्रहार भने सुनिल श्रीवास्तवले रोकेका थिए । आर्मीका लागि सन्तोष तामाङ र हिरण्य मगरले मात्र गोल गरे । आर्मीका जितेन्द्र कार्की र दिपक गुरुङको प्रहार संकटाका गोलरक्षक बिनय श्रेष्ठले बचाउ गरे ।
यसअघि खेलको ४७ मिनेटमा आर्मीका बालकृष्ण श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । डिबक्सभित्रबाट बिनयले प्रहार गरेको बल क्रसबारमा लागेर गोललाईन भित्र छिरेको थियो । खेलको सुरुवात देखीनै आक्रमक सुरुवात गरेका दुबै टिमले गोल गर्ने थुप्रै अवसर खेर फाले । पहिलो हाफमा १–० ले पछि परेको संकटाले खेलको ५६ मिनेटमा बराबरी गोल फर्कँयो । आर्मीका बालकृष्ण श्रेष्ठले मार्टिन अजाईलाई लडाएपछि पाएको फ्रिकिक बललाई सदुपयोग गर्दै संकटाका अमित तामाङले उत्कृष्ट गोल गरे । अमितको गोलसंगै खेलमा फर्किएको संकटाले आर्मीलाई चुनौती पस्कीदै राम्रो खेल प्रदर्शन ग¥यो ।
दोस्रो हाफमा पनि दुबै टिमका खेलाडीले राम्रा अवसर खेर फाले । दुबै टिमले १–१ को बराबरी खेलेपछि खेलमा २० मिनेट अतिरिक्त समय थप गरिएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका संकटाका गोलरक्षक बिनय श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट गोलरक्षक समेत घोषित भएका उनले यामाहा मोटरसाईकल प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट फरवार्ड संकटाका अनिल गुरुङ, उत्कृष्ट मिडफिल्डर आर्मीका सन्तोष तामाङ, उत्कृष्ट डिफेन्स आर्मीका बिमल पाण्डे, उत्कृष्ट प्रशिक्षक संकटाका सल्यान खड्गी र सर्वाधिक गोलकर्ताको पुरस्कार आर्मीका बालकृष्ण श्रेष्ठले हात पारे । बिधागत रुपमा पुरस्कार पाएका सबैले १५ हजार रुपैया प्राप्त गरेका छन् । प्रतियोगिताको फेयर प्लेको पुरस्कार एपिएफ क्लबले हात पारेको छ ।
प्रतियोगिताको बिजयी खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दहाल, आयोजक नव जनजागृति युवा क्लबका अध्यक्ष कासिम मिया लगायतले पुरस्कार वितरण गरेका थिए ।

Comment