एपेक्स ८ विकेटले विजयी

 

भैरहवा । भैरहवाको सिद्धार्थ रंगशालामा जारी जिल्लास्तरीय सुपर लिगमा शुक्रबार भएको गु्रप बीको अन्तिम खेलमा एपेक्स क्रिकेट क्लब शंकरनगरले प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब भैरहवालाई ८ विकेटले हराउँदै विजयी हासिल गरेको छ । गत वर्ष रेलिगेशनमा परेर बी डिभिजनमा घटुवा भएको एपेक्सले अघिल्लो वर्षको सेमिफाइनल पुगेको मास्टर्सलाई हराएको हो । जितसँगै एपेक्स सेमिफाइनल पुग्ने तेस्रो टिम बनेको छ भने मास्टर्स बी डिभिजनमा घटुवा भएको छ । यस अघि गु्रप एबाट लुम्बिनी खुकुरी क्रिकेट क्लब बेलहिया र गु्रप सीबाट वेस्टर्न क्रिकेट क्लब बुटवल सेमिफाइनल पुगिसकेका छन् । अब गु्रप डीबाट सेमिफइनल पुग्ने टिमको टुंगो लाग्न बाँकी रहेको आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए ।
एपेक्सले टस जितेर पहिला ब्याटिङ गर्न मास्टर्सलाई निम्तो दिएको थियो । पहिला ब्याटिङ गरेको मास्टर्सले निर्धारित ४० ओभरको खेलमा २९ दशमलब ३ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ७४ रनमा समेटिएको थियो । मास्टर्सका लागि प्रविन नेपालीले १४ र दुर्गा सेनले १२ रन बनाए पनि अन्य ब्याट्सम्यान नचल्दा टिम धरासायी बनेको थियो ।
बलिङतर्फ एपेक्सका लागि यु–१६ का चर्चित अन्तर्राष्ट्रिय खेलाडी अनिल खरेल चम्किएका थिए । उनले ४ विकेट लिए । त्यस्तै तुलबहादुर थापा र मैनुउद्दिन खानले समान २÷२ विकेट लिए भने अर्जुन बस्याल र महेन्द्र सुवेदीले समान एक÷एक विकेट लिए ।
लक्ष्य पछ्याउने क्रममा प्रतिउत्तरमा मैदान छिरेको एपेक्सले ११ दशमलब २ भोभरमा २ विकेटको क्षतिमा ७७ रन बनाउँदै विजयी हासिल गर्यो । एपेक्सका लागि महेन्द्र सुवेदीले नटआउट ३१ तथा अजय कौशिलाले ३१ रनको योगदान दिए । बलिङमा मास्टर्सका लागि नासिर अन्सारी र दुर्गा सेनले १÷१ विकेट लिएका थिए । खेलमा एपेक्सका अनिल खरेल म्यान अफद म्याच घोषित भएको अध्यक्ष मल्लले जानकारी दिए ।
शनिबार शक्ति गौचनको कप्तानीमा रहेको न्यू होराइजन क्रिकेट क्लब बुटवल र तीन पटकको सुपरलिग विजेता बुम एमसीसी भैरहवाबीच प्रतिस्पर्धा हुनेछ । रुपन्देही क्रिकेट संघको आयोजना, नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा जारी प्रतियोगिता फागुन ४ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यान दुबैले ५÷५ हजार नगद पुरस्कार पाउने छन् ।

 

Comment