पारा खेलाडीलाई खेल सामाग्री प्रदान


ताईवानमा बसोबास गर्ने नेपालीहरुको संस्था नेपाल ताइवान एसोसिएसनले नेपाल पारा तेक्वान्दो संघका खेलाडीहरुलाई खेल सामाग्री बिहिबार हस्तान्तरण गरेको छ । फरक क्षमता भएका खेलाडीहरुलाई सहयोग गर्ने उद्देश्यले ताइवान एसोसिएसनले करिब १ लाख बराबरको खेल सामाग्री तथा ट्रयाकसुट वितरण गरेको छ । नेपाल ताईवान एसोसिएसनका अध्यक्ष राजु गुरुङले एक कार्यक्रममा नेपाल पारा तेक्वान्दो संघका अध्यक्ष जनार्जन ढुंगेल, वरिष्ठ उपाध्यक्ष मोहकुमार कार्कीलाई खेल सामाग्री हस्तान्तरण गरेका थिए । त्यसैगरि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भई पदक समेत जित्ने खेलाडीहरुलाई ट्रयाकसुट पनि प्रदान गरिएको थियो ।
सो अवसरमा ताइवान एसोसिएसनका अध्यक्ष गुरुङले नेपालको खेलकुद र पारा खेलाडीका लागि ताइवानमा बसोबास गर्ने नेपालीहरु आगामी दिनमा ठूलो सहयोग गर्ने इच्छा राखेको बताए । उनले नेपाल र नेपालीको शिर उच्च राख्नका लागि योगदान दिने खेलाडीहरुका लागि सहयोग गर्न पाउनु गर्वको विषय भएको बताए ।
पारा तेक्वान्दो संघका अध्यक्ष ढुंगेलले फरक क्षमता भएका खेलाडीहरुका लागि सबैले सहयोग र समर्थन गर्नुपर्ने बताए । कार्यक्रममा उपाध्यक्ष भिमसेन केसी, कार्यवहाक महासचिव लोकेन्द्र आचार्य, राजु ढुंगेललगायतको उपस्थिति रहेको थियो । राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भइ छोटो समयमा नै नेपाल पारा तेक्वान्दो संघले पारा खेलाडीलाई वैदेशिक प्रशिक्षण र सहभागीता गराउँदै नियमित प्रशिक्षण समेत दिदै आएको अध्यक्ष ढुंगेलले जानकारी गारए ।

Comment