पुरुष सिंगल्समा भारतीय खेलाडीको रवाफ


नेपाल आईटीएफ जुनियर यु–१८ सर्किट १ टेनिस च्याम्पियनसिपअन्तर्गत पुरुष सिंगल्सको शीर्ष तीन स्थानको उपाधि भारतीय खेलाडीको पोल्टामा जाने निश्चित भएको छ । सो स्पर्धामा चारै भारतीय खेलाडी बिहीबार सेमिफाइनलमा प्रवेश गरेसंगै शीर्ष तीन स्थानको उपाधि भारतीय खेलाडीले जित्ने पक्का भएको हो ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष सिंगल्स क्वाटरफाइनलमा जित हात पार्दै भारतका अथर्व शर्मा, मृत्युञ्जय बदोला, पीयूष सुरेन्द्र सलेकर र कविर मनरायले सेमिफाइनलमा स्थान पक्का गरे । अथर्वले चीन पेनग्यु लुलाई ६–३ र ६–१, मृत्युञ्जयले भारतका दिपिन वाध्वालाई ६–०, ४–६ र ६–२, पीयूषले पोल्यान्डका मिचल वोज्लाकलाई ६–१ र ७–५ तथा कविरले भारतका ईशान सेठीलाई ३–६, ६–३ र ६–१ को सेटमा पराजित गरे ।
महिला सिंगल्समा समान २–२ भारतीय र चिनियाँ खेलाडी सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे । चीनकी युजिआओ छेले थाइल्यान्डकी पुन्निन् कोभापितुक्टेडलाई ३–६, ६–२ र ७–६(८), भारतकी वैदेही चौधरीले चीनकी जिङ याङलाई ३–६, ६–१ र ६–०, चीनकी मिङक्यु याङले भारतकी शरण्या गवारेलाई ६–१ र ६–३ तथा भारतकी शिवानी स्वरुप इङलेले जापानकी मियो कोजाकीलाई ६–४ र ६–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।
पुरुष डबल्समा चीनका पेनग्यु लु र ग्वाङसेन वेनको जोडीले भारतका जैश्विन सिदाना र आदर्श नागा टिप्पाभट्लाको जोडीलाई ६–३ र ६–४ तथा भारतका गुन्जन जाधव र अथर्व शर्माको जोडीले भारतकै मृत्युञ्जय बदोला र दिपिन वाध्वाको जोडीलाई ७–६ (५) र ६–१ को सेटमा पाखा लगाउदै फाइनलमा स्थान निश्चित गरे ।
महिला डबल्समा चीनकी छुन्झी गुओ र थाइल्यान्डकी पुन्निन् कोभापितुक्टेडको जोडीले चीनका जोङयुलि र जिङ याङको जोडीलाई ६–४, ६–७ (१) र १०–७ तथा चीनका ना दोङ र मिङगालाओ याङको जोडीले अमेरिकाकी एन्जेल मोगिली र भारतकी भाब्या रमिनेनीको जोडीलाई ६–४, ३–६ र १२–१० को सेटमा पन्छ्याउदै उपाधि भिडन्त पक्का गरे । शुक्रबार अपरान्ह १ः०० बजे पुरुष÷महिलाको डबल्स फाइनल हुनेछ ।

Comment