काठमाण्डौ र चितवन फाइनलमा

पोखरा पिस क्लवद्वारा आयोजित दशौं पोखरा पिस क्रिकेट कप २०७३ को फाइनल खेलमा बालुवाटार क्रिकेट क्लव काठमाण्डौ र क्रिकेट एशोसिएशन अफ चितवन एकेडेमी ११ चितवन भिड्ने भएका छन् । प्रतियोगिता अन्तर्गत बिहीवार भएको पहिलो सेमिफाइनल खेलमा बालुवाटार क्रिकेट क्लव काठमाण्डौले पोखरा क्रिकेट क्लव पोखरालाई ६७ रनले पराजित गरी फाइनलको यात्रा तय गरेका हो भने दोस्रो सेमिफाइनल खेलमा क्रिकेट एशोसिएशन अफ चितवन एकेडेमी ११ ले धौलागिरी क्रिकेट क्लव बागलुङलाई २३ रनले पराजित गरी फाइनलमा पुगेको हो ।
बिहीवारको पहिलो खेलमा पोखरा क्रिकेट क्लवले टस जितेर पाहुना टोली बालुवाटार क्रिकेट क्लवलाई पहिले ब्याटिङको निम्तो दिंदा बालुवाटारका सन्दीप ज्वराले ४५ रन, सोनु तामाङले ३० रन, रोहित पौडेलले २८ रन र अमृत थापाले २० रनको योगदान सहित २० ओभरमा ७ विकेटको नोक्सानीमा १६१ रनको योगफल तयार पारेको थियो । पोखरा क्रिकेट क्लवका तर्फबाट प्रदीप रावलले ३ विकेट र विजय रावतले २ विकेट लिएका थिए ।
१६२ रनको लक्ष्य लिएर मैदानमा उत्रेको पोखरा क्रिकेट क्लवले सुमन घिमिरेको २२ रन र जिम्मी गुरुङ्गको २० रनको मद्दत सहित १६.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९४ रनमा समेटिन पुगेको थियो । बालुवाटारका तर्फबाट सुनिल लामाले ५ विकेट र आशिष पोख्रेलले २ विकेट लिन सफल भएका थिए । उक्त खेलको म्यान अफ दी म्याच बालुवाटार क्रिकेट क्लवका सुनिल लामा घोषित भएका थिए ।
बिहीवारै भएको दोस्रो सेमिफाइनल खेलमा क्रिकेट एशोसिएशन अफ चितवन एकेडेमी ११ ले टस जितेर पहिले व्याटिङ गर्दै २० ओभरमा ७ विकेटको नोक्सानी सहित १२८ रनको योगफल तयार पारेको थियो । जसमा चितवनका आकाश थापाले ५८ रन र राजेश लम्सालले २१ रनको योगदान दिएका थिए । धौलागिरीका तर्फबाट सन्जय शाह र विजय विकले १।१ विकेट लिएका थिए ।
१२९ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको धौलागिरीले २० ओभरमा ७ विकेटको नोक्सानी सहित मात्र १०५ रन बनाउन सक्यो । धौलागिरी किसान खड्काले २४ रन र मनोज खड्काले १३ रनको योगदान दिए । चितवनका तर्फबाट सुशील कडेलले ३ विकेट र दीपेश श्रेष्ठले २ विकेट लिन सफल भए । उक्त खेलको म्यान अफ दी म्याच चितवनका आकाश थापा घोषित भए ।
प्रतियोगिताको फाइनल खेल शनिवार बिहान ११ः३० बजे काठमाण्डौको बालुवाटार क्रिकेट क्लव र चितवनको क्रिकेट एशोसिएशन अफ चितवन एकेडेमी ११ का बीच हुनेछ । प्रतियोगिता पोखरा रंगशालाको क्रिकेट मैदानमा संचालन भैरहेको छ ।

Comment