लुम्बिनी खुकुरी क्लल ८ विकेटले विजयी

भैरहवा । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी मुख्य सुपर लिग अन्तर्गत बिहीबार भएको समूह ‘ए’ को अन्तिम खेलमा देवदह क्रिकेट युनिट देवदहलाई ८ विकेटले हराउँदै लुम्बिनी खुकुरी क्रिकेट क्लब बेलहिया विजयी भएको छ । जितसँगै लुम्बिनी खुकुरी सेमिफाइनलमा प्रवेश गरेको छ भने देवदह अर्को वर्षका लागि रेलिगेशन बचाउँदै डिभिजन एकै क्लबमा कायम भएको तथा शंकरनगर यसअघि नै रेलिगेशनमा पर्दै डिभिजन बीमा घटुवा भइसकेको आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लले बताए ।
मौसमका कारण ४० ओभरबाट ३५ ओभरमा झारी खेलाइएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको देवदहले २८ दशमलब ३ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ९६ रनको योगफल तयार गरेको थियो ।
देवदहलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनी खुकुरीका शाह आलमले ४, इकलाल अहम्मदले २, मान बहादुर थापा, लालबहादुर अधिकारी र भीम सुनारले समान १÷१ विकेट लिए । देवदहका लागि सुमनराज पाण्डे ३०, रोशन गौतम र प्रवित पाण्डेले समान १८÷१८ रनको योगदान दिए पनि अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् ।
प्रतिउत्तरमा सामान्य लक्ष्य पाएको लुम्बिनी खुकुरीले १६ दशमलब १ ओभरमा एक विकेटको क्षतिमा ९७ रन बनाउँदै विजयी हासिल गर्यो । जसमा यस अघिको खेलमा ८० रन प्रहार गरेका हालै यु–१९ विश्वकप खेलेका शंकर रानाले नटआउट ५१, विजय सुनारले नटआउन २३ र कप्तान अन्तिम थापाले १४ रन बनाए । बलिङमा देवदहका लागि सरगम चौधरीले एक विकेट लिएका थिए । खेलमा लुम्बिनी खुकुरीका शाह आलम म्यान अफ द म्याच घोषित भएको अध्यक्ष मल्लले जानकारी दिए ।

प्रतियोगिता अन्तरगत २८ गते शुक्रबार समुह बीको अन्तिम खेलमा प्रोफेसनल मास्टर्स–११ भैरहवा र एपेक्स क्रिकेट क्लब शंकरनगरबीच प्रतिस्पर्धा हुनेछ । रुपन्देही क्रिकेट संघको आयोजना, नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा जारी प्रतियोगिता फागुन ४ गतेसम्म संचालन हुने छ । प्रतियोगिताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृस्ट खेलाडीले १० हजार, उत्कृस्ट बलर र उत्कृस्ट ब्याट्सम्यान दुबैले ५÷५ हजार नगद पुरस्कार पाउने छन् ।

 

Comment