आर्मी र न्यू डायमण्ड फाइनलमा


नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पुरुष पोखरामा जारी सृजना अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिता २०७३ को फाईनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा भएको प्रतियोगिताको पुरुषको दोश्रो सेमिफाईनल खेलमा आर्मीले आयोजक पश्चिमाञ्चललाई ३–१ को सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । पहिलो सेटमा २५–२०ले जित हात पारेको आर्मीले दोश्रो सेटमा पश्चिमाञ्चललाई १६–२५ले खेल सुम्पियो । तर सेनाले आफुलाई सम्हाल्दै तेश्रो सेटमा २५–१३ र चौथो सेटमा २५–२० को जित हात पार्दै फाइनलमा स्थान बनायो । अव आर्मीले उपाधीको लागि पुलिसको सामना गर्ने भएको छ । पुलिस यस अघिनै फाइनल प्रवेश गरिसकेको छ ।
आर्मीका मनबहादुर श्रेष्ठ प्रतियोगिताको म्यान अफ दि म्याच घोषित भए । यस अघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदकी सदस्य यान कुमारी “अश्मिता” गुरुङ्गले राष्ट्रिय रेफ्रि कोपिल जि.सी.लाई भलिबल हस्तान्तरण गर्दै खेलको सुरुवात गरेकी थिईन् । सृजना विकास केन्द्रको प्रायोजन तथा पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघको आयोजना एवं पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति र कास्की जिल्ला खेलकुद विकास समितिको सहयोगमा भएको प्रतियोगिताको महिला तर्फको खेलमा काठमाण्डौ नैकापको न्यू डायमण्ड एकेडेमीले आयोजक पश्चिमाञ्चल टिमलाई ३–१ले पराजित गर्दै उपाधी नजिक पुगेको छ । बिहिबार भएको सेमिफाईनला डायमण्डले पश्चिमाञ्चललाई २५–१९, २५–१७, १७–२५ र २५–११ले पराजित गर्दै फाईनलमा स्थान पक्का गर्न सफल भयो । डायमण्डले अव उपाधीको लागि शनिबार सशस्त्र प्रहरीको एपिएफ संग प्रतिस्पर्धा गर्नेछ । न्यू डायमण्डकी प्रतिभा माली प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भईन् ।

Comment