एपिएफ र पुलिस उपाधी नजिक


सशस्त्र प्रहरी बलको एपिएफ क्लबको महिला र नेपाल पुलिसको पुरुष टिम पोखरामा जारी सृजना आमन्त्रण अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा बुधबार उपाधी नजिक पुगेका छन् । पोखरा रङ्गशालामा सम्पन्न सेमिफाइनलमा चिर प्रतिद्वन्दि नेपाल पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफको महिला टिम फाइनलमा प्रवेश गरेको हो । एपिएफले पुलिसलाई २५–१५, २५–१४ र २५–१५ले पाखा लगाएको हो ।
एपिएफकी रेश्मा भण्डारी ओमेन अफ द म्याच घोषित भईन् ।अव एपिएफले न्यू डायमण्ड र पश्चिमाञ्चलविचको विजेता संग उपाधीको लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
प्रहरी टिम कमजोर नभए पनि नयाँ खेलाडीहरुको अनुभवको कमी र आफ्ना खेलाडीहरु फर्ममा भएका कारण जित आत्मसात गर्न सकेको एपिएफका प्रशिक्षक प्रकाश थपलियाले बताए । यस्तै नेपाल प्रहरीका प्रशिक्षक भरत शाहले आफ्नो टिम कमजोर नभएको भन्दै टिममा नयाँ खेलाडीहरु भएकाले अनुभवको कमीका कारण प्रतियोगिता गुमाउनु परेको बताए । उनले सशसस्त्र प्रहरीमा भएको भलिबलमा एपिएफलाई हराएको न्यू डायमण्ड संग पाँच सेट खेल्नुले आफ्नो टिम कमजोर नभएको बताए । शाहले टिममा चुडा खड्काको अभाव खड्कीएको बताए ।
सृजना समाज केन्द्रको प्रायोजन तथा पश्चिमाञ्चल भलिबल संघको आयोजना तथा पश्चिमाञ्चल खेलकुद विकास समिति र कास्की जिल्ला खेलकुद विकास समितिको सहयोगमा भएको प्रतियोगिताको पुरुष तर्फको सेमिफाईनलमा नेपाल पुलिस क्लबले एपिएफ माथी ३–१ को जित निकाल्दै महिलामा भएको हारको बदला लिएको छ ।
पुलिसले पहिलो सेटमा ३०–२८ को संघर्षपूर्ण जित निकाल्दै जितको संकेत देखाएको थियो । तर दोश्रो सेटमा एपिएफ संग १९–२५ ले स्तब्ध हुन पुग्यो । एक एक जितको अवस्थामा निकैनै रोमाञ्चक प्रतिस्पर्धा भएको खेलमा पुलिसले एपिएफलाई सम्हालिने मौका नै नदिई तेश्रो सेटमा २५–१६ र चौथो सेटमा २५–१४ अंकले पराजित गर्दै फाईनलमा स्थान पक्का ग¥यो । पुलिसका कुल बहादुर थापा म्यान अफ द म्याच घोषित भए । अव उपाधीको लागि पुलिसले बिहिबार हुने सेनाको त्रिभुवन आर्मी र पश्चिमाञ्चलविचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

Comment