वीरगन्जलाई हराउदै आर्मी सेमिफाईनमा

सिमरा । वीरगन्ज युनाईटेड क्लबलाई हराउदै त्रिभूवन आर्मी क्लब सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मंगलवार भएको अन्तिम क्वार्टरफाईनल खेलमा वीरगन्जलाई ३–० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितसंगै प्रतियोगिताको सेमिफाईनको समिकरण पुरा भएको छ । यसअघि साविक बिजेता बिजय युथ क्लब, सिएमजी संकटा क्लब र हिमालयन शेर्पा क्लब सेमिफाईनलमा प्रवेश गरिसकेका छन् । आर्मीले फाईनल प्रवेशका लागि शेर्पासंग खेल्नेछ । छैठौं संस्करणको बिजेता आर्मीलाई जित दिलाउने क्रममा बालकृष्ण श्रेष्ठ, सन्तोष तामाङ र दिपक गुरुङले एक÷एक गोल गरे । वीरगन्जविरुद्ध हाबी देखिएको आर्मीले खेलको १६ मिनेटमा बालकृष्णको गोलबाट अग्रता लिएको थियो । नवयुग श्रेष्ठले मिलाएको पासलाई सदुपयोग गर्दै बालकृष्णले गोल गरेका हुन् ।
सुरुवातदेखीनै आक्रामक खेल देखाएको आर्मीले पहिलो हाफको ईन्जुरी समयमा दोस्रो गोल थप्दा वीरगन्जले भने कुनै अवसर बनाउन सकेन । दुई मिनेटको ईन्जुरी समयमा आर्मीका सन्तोष तामाङले गोल गरे । खेलको ५५ मिनेटमा बालकृष्णले मिलाएको पासमा दिपक गुरुङले गोल गरे । त्यसअघि आर्मीका गोलरक्षक बिकेश कुथु गम्भिर घाईते हुदै मैदानबाट बाहिरिन पुगेका थिए । बल नियन्त्रणमा लिने क्रममा खेलाडीसंग ठोक्कीएपछि कुथु घाईते भएका हुन् । टाउकोमा चोट लागेका कुथुको स्थानिय अस्पतामा उपचार भईरहेको छ । उनको स्थानमा सुनिल श्रीवास्तव मैदान प्रबेश गरेका थिए ।
दोस्रो हाफको खेल पूर्णरुपमा आफ्नो नियन्त्रणमा लिएको आर्मीले गोल गर्ने केही अवसर भने चुकाएका थिए । वीरगन्जका प्रशिक्षक सुलभजंग रानाले खेलाडीबिच तालमेल नमिल्दा पराजय भोगेको बताए । आर्मीजस्तो बलियो टिमसंग आफ्नो खेलाडीले खेल्न नसकेको उनले प्रतिक्रिया थिए । आर्मीका प्रशिक्षक नविन न्यौपानेले टिमको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए । आफ्नो टिमले अझै केही अवसर गुमाउन पुगेको भन्दै न्यौपानेले त्यसलाई सुधार गर्दै खेल्नुपर्ने बताए ।
खेलको म्यान अफ दि म्याच आर्मीका सन्तोष तामाङ घोषित भए । प्रतियोगिता अन्तर्गत बुधवार बिजय युथ क्लब र सिएमजी संकटाबिच खेल हुनेछ ।

Comment