नेपाल इङ्ल्यान्डसँग पराजित

दोस्रो दृष्टिबिहिन २० ट्वान्टी बिश्व कप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा पनि नेपाल पराजित भएको छ । नेपाल इङ्ल्यान्डसँग ९० रनले पराजित भएको हो । जारी प्रतियोगितामा नेपालको यो पाँचौ पराजय हो । नेपाल यस अघि अष्टे«लिया, बंगलादेश, पाकिस्तान, वेस्ट इन्डिज र श्रीलंकासँग पनि पराजित भएको थियो । नेपालले जारी प्रतियोगितामा दक्षिण अफ्रिकाविरुद्ध एक मात्र जित हात पारेको छ ।

नेपालको बिश्व कप क्रिकेटमा इङ्ल्यान्डविरुद्ध यो दोस्रो पराजय हो । इङ्ल्यान्डविरुद्ध यस अघि सन् २०१२ को पहिलो २० टवान्टी बिश्व कपमा भएको खेलमा एक सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको नेपाल १० विकेटले पराजित हुन पुगेको थियो । बेङ्लोरको अलुर स्थित केएससीए मैदानमा टस जिती पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारीत २० ओभरमा पाँच विकेट गुमाउदै नेपाल सामु दुई सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, निर्धारीत २० ओभरमा सात विकेट गुमाउदै एक सय ४३ रन मात्रै जोड्न सकेपछि नेपाल प्रतियोगितामा पाँचौ पराजय बेहोर्न बाध्य बनेको हो ।

नेपालका लागि बी वान क्याटेगोरीका सुनिल सुबेदी क्षेत्रीले ४४ बलमा ४२ रन तथा सुनिल थापा मगरले ३४ बलमा ३० रनको योगदान दिए । सुनिल थापा मगरले आफ्नो पालीमा दुई चौका प्रहार गरेका थिए । यस्तै कप्तान किर्तन श्रेष्ठ दुवालले २७ रनको योगदान दिए । १९ बलको सामना गरेका किर्तनले दुई चौका नै प्रहार गरेका थिए । त्यस बाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ पदम बडइलाले इङ्ल्यान्डको दुई तथा सुनिल थापा मगरले एक विकेट लिएका थिए ।

इङ्ल्यान्डका लागि लुक सगले ६२ बलमा एक सय रनको सतकीय योगदान गरे । उनले आफ्नो पालीमा आठ चौका प्रहार गरेका थिए । यस्तै पिटर ब्लुइटले ४३ बलमा ६० रनको योगदान गरे । उनले दुई चौका प्रहार गरेका छन् । लुक सग र जस्टिन फलिनजर्सरीले नेपालको दुईदुई विकेट लिएका थिए । इङ्ल्यान्डविरुद्ध फिल्डिङमा सुधार भए पनि जित सम्भव नभएको नेपाली टोलीका प्रशिक्षक रीजन प्रजुले जनाएको छ । ’बलिङ र फिल्डिङमा सुधार भयो । तर सुरुवातका राम्रा ब्याट्सम्यानलाई सस्तैमा आउट गर्न सफल भए पनि त्यसपछिका ब्याट्सम्यानले इङ्ल्यान्डलाई राम्रो योगफलमा पु¥याए’, प्रशिक्षक प्रजुले भने, ‘त्यसैले जित सम्भव भएन ।’

Comment