शंकरनगर बी डिभिजनमा घटुवा

भैरहवा। भैरहवाको सिद्धार्थ रंगशालामा जारी मुख्य सुपरलिग अन्तरगत ‘ए’ डिभिजनको समूह ‘ए’ को आइतबार भएको दोस्रो खेलमा शंकरनगर क्रिकेट क्लब शंकरनगरलाई ३३ रनले हराउँदै देवदह क्रिकेट क्लब देबदह विजयी भएको छ । जितसँगै देवदहले सेमिफाइनलको सम्भावनालाई बलियो बनाएको छ भने दुई खेल हारेको शंकरनगर ‘ए’ डिभिजनबाट ‘बी’ डिभिजनमा घटुवा भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए । टस जितेर पहिला ब्याटिङ रोजेको देवदहले निर्धारित ४० ओभरको खेलमा ३७ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो । प्रतिउत्तरमा मैदान छिरेको शंकरनगरले ३५ दशमलब ४ ओभरमा अलआउट हुँदै १ सय ५६ रन मात्रै बनाउन सक्यो ।

देवदहका लागि सुमन पाण्डेले ५६, सुरज दराई मगरले ४१ र रोशन गौतमले २५ रनको योगदान दिए । बलिङमा शंकरनगरका लागि लक्की पाण्डेले ४, धिरज शाहीले २, सुनिल पौडेल र ईश्वर गुरुङले १÷१ विकेट लिए । व्याटिङमा शंकरनगरका लागि ईश्वर गुरुङले ३१, धिरज शाहीले २३ र वियु न्यौपानेले नटआउट २१ रन बनाए पनि अन्य ब्याट्सम्यान नचल्दा जितका लागि पर्याप्त हुन सकेन ।
देवदहका लागि किर्तीमान ढकालले ३, सरगम चौधरी, रोशन गौतम र पुरन थापाले २÷२ विकेट तथा सुरज दराई मगरले १ विकेट लिए । खेलको म्यान अफ द म्याच देवदहका सुमन पाण्डे घोषित भएको अध्यक्ष मल्लले जानकारी दिए ।

रुपन्देही क्रिकेट संघको आयोजना, नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा जारी प्रतियोगिता अन्तरग सोमबार समूह बीमा रहेका ज्ञानोदय क्रिकेट क्लब करहिया र एपेक्स क्रिकेट क्लब शंकरनगरबीच प्रतिस्पर्धा हुनेछ । जारी प्रतियोगिता फागुन ४ गतेसम्म संचालन हुने छ । प्रतियोगिताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृस्ट खेलाडीले १० हजार, उत्कृस्ट बलर र उत्कृस्ट ब्याट्सम्यान दुबैले ५÷५ हजार नगद पुरस्कार पाउने छन् ।

Comment