धौलागिरी क्रिकेट क्लव सेमिफाइनलमा

पोखरा पिस क्लवद्वारा पोखरा रंगशालामा आयोजित दशौं पोखरा पिस क्रिकेट कप २०७३ अन्तर्गत सोमवार भएको खेलमा धौलागिरी क्रिकेट क्बल बागलुङले शुक्लागण्डकी युथ क्लव तनहुँलाई १२५ रनले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । सोमवार भएको खेलमा टस हारेर ब्याटिङ्ग गरेको धौलागिरी क्रिकेट क्लवले २० ओभरमा पुरा खेल्दै ४ विकेटको नोक्सानीमा २ सय ३ रनको विशाल योगफल तयार पारेको थियो । धौलागिरीका दीपक कुँवरले ५१ बलमा ८ चौका र ४ छक्काको मद्दतले अविजित ७५ रन र सञ्जय शाहले २६ बलमा ४ चौका र ३ छक्काको मद्दतले ४७ रनको योगदान दिएका थिए । शुक्लागण्डकीका तर्फबाट विवेक कार्कीले ३ ओभरमा २३ रन खर्चिदै १ विकेट लिन सफल भए ।
२ सय ४ रनको लक्ष्य लिएर मैदानमा उत्रेको शुक्लागण्डकीे १८.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ७८ रनमा समेटिएको थियो । शुक्ला गण्डकीका तर्फबाट विजय बरालले ११ बलमा १० रन बनाउन सफल भए भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
धौलागिरीका तर्फबाट सञ्जय शाहले ४ ओभरमा ८ रन दिएर ३ विकेट हात पारे । त्यस्तै सुनिल मिश्र, दिपक कुँवर र विक्की शाहले २।२ विकेट लिन सफल भए । उक्त खेलको म्यान अफ दी म्याच धौलागिरीका दीपक कुँवर घोषित भए । नेपाल रेडक्रस सोसाइटी उपशाखा ७ का सभापति ठाकुर प्रसाद बरालले म्यान अफ दी म्याच खेलाडीलाई ट्रफी प्रदान गरेका थिए ।
प्रतियोगिता अन्तर्गत बुधबार दुई खेल हुनेछन् । पहिलो खेल लेकसाइड युथ क्रिकेट क्लव पोखरा र बालुवाटार क्रिकेट क्लव काठमाण्डौका बीच तथा दोस्रो खेल राइजिङ्ग क्रिकेट क्लव पोखरा र क्रिकेट एशोसिएशन अफ चितवन एकेडेमी ११ बीच हुने आयोजकले जनाएको छ ।

Comment