बिजय युथ सेमिफाईनलमा


सिमरा ः सरस्वती युथ क्लबलाई सडन डेथमा पराजित गर्दै साविक बिजेता प्राइम पोलिक्लिनिक बिजय युथ क्लब सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुबै टोलीले गोलरहित बराबरी खेलेपछि खेल टाईब्रेकरमा पुगेको हो । टाईब्रेकर पनि ३–३ को बराबरीमा रोकिएपछि नतिजा सडन डेथबाट भएको हो ।सडन डेथमा सरस्वतीका तिर्थ बस्नेतले प्रहार गरेको बल पोष्टमा ठोक्किदा बिजय युथका अशोक थापाले बिजयी गोल गरेका थिए ।
यसअघि निर्धारित समयमा दुबै टोलीले गोल गर्ने थुप्रै अवसर चुकाएका थिए । खेलको ५औ मिनेटमा बिके लामाले प्रहार गरेको बल क्रसबार नजिकैबाट बाहिरिदा बिजय युथले सुरुवातमै अग्रता लिने अवसर गुमाउन पुग्यो । खेलको २ मिनेटमा सुनिल बलले गोल गर्ने अर्को अवसर चुकाए । सुजित बुढाथोकीको पासलाई बलले पोष्टको दिशा दिन सकेनन ।प्रतिस्पर्धात्मक पहिलो हाफको २० औ मिनेटमा सरस्वतीका रमेश घिसिङले डिबक्स भित्रबाट गरेको प्रहार पोष्टनजिकैबाट बाहिरियो । आपसी तालमेल बनाएका दुबै टिमको फिनिसिङ पक्ष भने कमजोर देखियो ।
खेलको दोस्रो हाफ पनि निकै प्रतिस्पर्धात्मक बन्यो । दोस्रो हाफमा फर्मेसन परिवर्तन गरेको बिजय युथले सरस्वतीविरुद्ध केही अवसर बनाएपनि सदुपयोग गर्न सकेन् । दोस्रो हाफमा दुबै टिमले रक्षात्मक खेल प्रस्तुत गरेपछि निर्धारित समयको खेल बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा पुगेको थियो ।
टाइब्रेकरमा सरस्वतीका जोनम लिगल, सेनेहाङ लिम्बु, रमेश घिसिङले गोल गर्दा दिपेश श्रेष्ठको बल बिजय युथका गोलरक्षक अशोक बरालले बचाउ गरे । सरस्वतीका अर्का खेलाडी सबिन खड्काका प्रहार भने क्रसबारमाथी बाट बाहिरियो । बिजय युथका सुनिल बल, सुरज बिष्ट र अविशेक रिजालले बललाई जाली चुमाउदा सन्जय राजबाहकको बल पोष्ट नजिकैबाट बाहिरिन पुगेको थियो । बिजय युथका बर्षात गुरुङको प्रहार भने सरस्वतीका गोलरक्षक कृष्ण चौधरीले बचाउ गरे ।
सरस्वतीका प्रशिक्षक कृष्ण गोपाल श्रेष्टले अवसरको सदुपयोग गर्न नसक्दा नजिता अरुलाई सुम्पनुपरेको बताए । बिजय युथका प्रशिक्षक सुविन घिमिरले पनि फिनिसिङ पक्ष भने कमजोर देखिएको बताए । खेलको म्यान अफ दि म्याच बिजय युथका गोलरक्षक अशोक बराल घोषित भए । उनले पाच हजार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत सोमबार हिमालयन शेर्पा र रुपन्देही ११ बिच खेल हुनेछ ।

Comment