राइजिङ क्रिकेट क्लव र पोखरा क्रिकेट क्लव विजयी

पोखरा पिस क्लवद्वारा पोखरा रंगशालामा आयोजित दशौं पोखरा पिस क्रिकेट कप २०७३ अन्तर्गत आइतबार दुई खेलहरु सम्पन्न भएका छन् । आइतबार भएको खेलमा राइजिङ्ग क्रिकेट क्लवले सांग्रिला क्रिकेट क्लवलाई २१ रनले र दोस्रो खेलमा पोखरा क्रिकेट क्लवले स्याङ्गजा युनाइटेड क्रिकेट क्लवलाई ९ विकेटले पराजित गरेका छन् ।
आइतमार भएको पहिलो खेलमा टस हारेर पहिलो ब्याटिङ्ग गरेको राइजिङ क्रिकेट क्लवले २० ओभरमा पुरा खेल्दै ७ विकेटको नोक्सानीमा दिपेश खत्रीको ६६ रनको मद्दतले १२१ रनको योगफल तयार पारेको थियो । ६६ रन बनाएका दिपेश खत्रीको ७ चौका र १ छक्का सामेल थियो । सांग्रिलाका तर्फबाट विपिन खत्रीले ४ ओभरमा १३ रन खर्चेर ४ विकेट र गौरब देवले ४ ओभरमा १६ रन खर्चदै ३ विकेट हात पारे ।
१२२ रनको लक्ष्य लिएर मैदानमा उत्रेको सांग्रिला क्रिकेट क्लवले शुरुवात राम्रो गरे पनि मध्यक्रम सम्हालिन नसक्दा २० ओभरमा ७ विकेट गुमउँदै १०० रनमा सिमित भएको थियो ।सांग्रिलाका राजु खनालले २१ बलमा ३ चौका र १ छक्काको मद्दतले २० रन र पारस लामिछानेले २ चौकाको मद्दत सहित २५ बलमा १७ रनको योगदान दिए । राइजिङ्गका दिपेश खत्रीले ४ ओभरमा १ मेडेन राख्दै ७ रन खर्चेर २ विकेट र रफिक ल्याहो आलमले ४ ओभरमा १५ रन खर्चेर २ विकेट हात पारे । उक्त खेलको म्यान अफ दी म्याच राइजिङ्गका दिपेश खत्री घोषित भए ।
आइतबार नै भएको दोस्रो खेलमा नवौं संस्करणको विजेटा स्याङ्गजा युनाइटेड क्रिकेट क्लवलाई पोखरा क्रिकेट क्लवले ९ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ्ग रोजेको स्याङ्गजा १५.३ ओभरमा आफ्ना सम्पूर्ण विकेट गुमाउँदै मात्र ५८ रनमा समेटिन पुग्यो । स्याङ्गजाको तर्फबाट कुनै पनि व्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
पोखरा क्रिकेट क्लवका विजय रावतले ३.३ ओभरमा १२ रन खर्चेर ३ विकेट हात पारे । त्यस्तै ओम प्रकाश शाहले ४ ओभरमा १२ रन दिएर २ विकेट र विपिन रन्जीतले ३ ओभरमा १५ रन दिएर २ विकेट हात पारे । ५९ रनको लक्ष्य पोखरा क्रिकेट क्लवले ८.२ ओभरमा १ विकेटको नोक्सानीमा पुरा ग¥यो । पोखरा क्रिकेट क्लवका अनिल गुरुङ्गले ४ औका र १ छक्काको मद्दतले २० बलमा २६ रन र त्रिपुरा ठाकुरले ३ चौकाको मद्दत सहित १८ बलमा १५ रन सामेल थियो ।
स्याङ्गजाका अर्जुन भण्डारीले ३ ओभरमा ४ रन दिएर १ विकेट लिएका थिए । उक्त खेलको म्यान अफ दी म्याच पोखरा क्रिकेट क्लवका विजय रावत घोषित भए । दुवै खेलका म्यान अफ दी म्याचलाई कास्की जिल्ला क्रिकेट संघका सहसचिव भोजबहादुर गुरुङ्ग र पोखरा पिस क्लवका संस्थापक सदस्य अर्जुन केसीले ट्रफी प्रदान गरेका थिए । जितसँगै राइजिङ्ग क्रिकेट क्लव क्वाटरफाइनल प्रवेश गरेको छ भने पोखरा क्रिकेट क्लवले सेमीफाइनलको यात्रा तय गरेको छ ।
प्रतियोगिता अन्तर्गत सोमवार धौलागिरी क्रिकेट क्लव बागलुङ र शुक्लागण्डकी युथ क्लव तनहुँका बीच खेल हुने आयोजकले जनाएको छ ।

Comment