उद्घाटन खेलमा लेकसाइड युथ क्रिकेट ५ विकेटले विजयी

 

पोखरा पिस क्लवद्वारा आयोजना गरिएको दशौं पोखरा पिस क्रिकेट कप २०७३ को शनिवार एक कार्यक्रमका बीच औपचारिक शुरुवात भएको छ । प्रतियोगिताको प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले औपचारिक उद्घाटन गरेका थिए ।
यसअघि क्लवका अध्यक्ष सुजन बरालले स्वागत मन्तव्यसहित सम्पूर्ण सहभागी खेलाडीहरुलाई खेलको अन्तर्राष्ट्रिय मूल्य र मान्यतामा रही अनुशासनपूर्वक आफ्नो कौशलता देखाउँदै अगाडि बढ्न सुझाव दिएका थिए ।
प्रतियोगिता अन्तर्गत शनिवार भएको उद्घाटन खेलमा आयोजक पोखरा पिस क्लवलाई ५ विकेटले पराजित गर्दै लेकसाइड युथ क्रिकेट क्लवले सुखद शुरुवात गरेको छ । लेकसाइड युथ क्रिकेट क्लवले टस जितेर पहिले व्याटिङ गर्ने निर्णय सहित ब्याटिङमा उत्रेको पोखरा पिस क्लवले निर्धारित २० ओभर पूरा खेलदै ७ विकेटको नोक्सानीमा ८६ रनको योगफल तयार पारेको थियो । पोखरा पिस क्लवका विश्वास गुरुङ्गले २० रन, विकल बरालले १४ रन र अमित सुवेदीले १० रनको योगदान दिएका थिए । लेकसाइडका तर्फबाट गौतम तामाङले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट र राजु तामाङले ४ ओभरमा ११ रन खर्चदै २ विकेट लिन सफल रहे ।
८७ रनको लक्ष्यलाई लेकसाइड युथ क्रिकेट क्लवले १४.३ ओभरमा ५ विकेटको नोक्सानी सहित पूरा गरेको थियो । लेकसाइड युथ क्लवका तर्फबाट कप्तान रोमन पौडेलले १४ रन र सन्दीप सुनारले ११ रनको योगदान दिएका थिए । पोखरा पिस क्लवको तर्फबाट बिमल बरालले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिएका थिए । प्रतियोगिताको पहिलो  खेलमै ह्याट्रिक गर्न सफल लेकसाइड युथ क्रिकेट क्लवका गौतम तामाङ उक्त खेलको म्यान अफ दी म्याच घोषित भए । क्लवका सल्लाहकार तेजनारायण अधिकारीले म्यान अफ दी म्याच गौतम तामाङलाई पुुरस्कार प्रदान गरेका थिए ।

Comment