नेपालको चौथो पराजय


नेपाले जारी दोस्रो दृष्टिबिहिन २० ट्वान्टी बिश्व कप क्रिकेट प्रतियोगितामा चौथो पराजय बेहोरेको छ । नेपाल शनिबार भारतको मुम्बईमा भएको खेलमा वेस्ट इन्डिजसँग ४३ रनले पराजित भएको हो । नेपालले यस अघि तीन खेलमा पराजय बेहोरी सकेको छ । नेपाल अष्टे«लियासँग १० विकेट, बंगलादेशसँग ५९ रन तथा पाकिस्तानसँग १० विकेटले नै पराजित भएको थियो । नेपालले दक्षिण अफ्रिकासँग भने ६ विकेटको जित हात पारेको छ । नेपालले यी सबै खेल दिल्लीमा खेलेको थियो ।

नेपालले मुम्बईको आफ्नो एक मात्र खेलमा पनि पराजय बेहोरेको हो । मुम्बईको बान्द्रा स्थित एमआईजी मैदानमा टस जितेको नेपाले पहिले फिल्डिङको निर्णय लिएको थियो । जसमा वेस्ट इन्डिजले निर्धारीत २० ओभर पुरै खेल्दै सात विकेटको क्षतिमा दुई सय आठ रनको योगफल बनाएको थियो । लक्ष्य पछ्याउन उत्रिएको नेपाली टोलीले निर्धारीत ओभरमा तीन विकेट गुमाउदै एक सय ६५ रन मात्रै बनाउन सकेपछि चौथो पराजय बेहोर्न बाध्य बन्यो । पराजयका बाबजुद नेपालका लागि सुनिल थापा मगरले ब्यक्तिगत सर्बाधिक योगफलको योगदान गरे ।

‘बी थ्रि क्याटेगोरी’ का सुनिलले ५१ बलमा अबिजित ७० रनको योगदान गरे । जुन अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले बनाएको तेस्रो सर्बाधिक ब्यक्तिगत स्कोर हो भने नेपालको पाँचौ अर्धसतक हो । अन्तर्राष्ट्रिय प्रतियोगितामा सुनिलको भने यो पहिलो अर्धसतक हो ।

सुनिलले आफ्नो पालीमा १० चौका प्रहार गरेका थिए । त्यस बाहेक लोकबहादुर थापाले पनि २९ बलमा अबिजित ३६ रनको योगदान दिए । उनले तीन चौका प्रहार गरे । सुरुवाती ब्याट्सम्यान सुनिल राना मगरले २६ बलमा २५ रन जोड्दा पदमबहादुर बडैला ११ रन तथा सुनिल सुबेदी क्षेत्री तीन रनमै आउट भए ।
वेस्ट इन्डिजका लागि भने सुरुवाती ब्याट्सम्यान केभिन एन्ड्रयु डगलासले ५९ बलमा ९६ रनको प्रहार गरे । उनले पनि आफ्नो पालीमा १० चौका प्रहार गरे । लेरोय फिलिप्सले १३ बलमा २३ रन तथा कनिल ग्राहमले २२ बलमा २७ रन प्रहार गरे । नेपाली टोलीका प्रशिक्षक रीजन प्रजुले कमजोर फिल्डिङका कारण जित्नु पर्ने खेल गुमाउनु परेको प्रतिकृया दिए । ‘वेस्टइन्डिजविरुद्ध खेलाडीले फिल्डिङमा निक्कै खराव प्रदर्शन गरे । फिल्डिङमा हामीले ३० रन जति बढि दियौं । त्यसैले जित्नु पर्ने खेलमा पराजित हुनपुग्यौं’, प्रशिक्षक प्रजुले भने, ‘यद्यपि यो खेलमा बलिङ र ब्याटिङ उत्कृष्ट देखिएको छ ।’

नेपालले वेस्ट इन्डिजलाई २८ अतिरीक्त रन उपहार दिएको थियो भने नेपालले २० रन मात्रै अतिरीक्त रन उपहार पाएको थियो । नेपालका लागि सुनिल थापा मगर, रमेश बहादुर बानिँया, बिक्रम बहादुर राना र पदम बहादुर बडैलाले समान एकएक विकेट लिए । प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो छैटौ खेलमा आईतबार श्रीलंकाविरुद्ध खेल्दै छ । श्रीलंकाविरुद्धको खेल पुनेमा हुने छ ।

Comment