एपीएफको आयोजनामा ब्याडमिन्टन, भलीबल र लनटेनिस प्रतियोगिता हुने


सशस्त्र प्रहरी बल केन्द्रिय खेलकुद समितिको आयोजनामा यही माघ महिनामा ‘तेह«ौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७३’, ‘नवौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७३’ तथा ‘सशस्त्र प्रहरी महानिरीक्षक चौंथो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता–२०७३’ संचालन हुने भएको छ ।
सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले सोमबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिताहरुको विविध विषयमा खेलकूद पत्रकारहरुलाई जानकारी गराए । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले त्यसअवसरमा एपीएफ क्लवका खेलाडीको स्तर अभिवृद्धिको लागि खेलकुद क्षेत्रमै करीअर विकास गर्ने अवसर संगठनले उपलब्ध गराएको बताउर्दै करारमा नियुक्त खेलाडीहरुलाई समेत सशस्त्र प्रहरी कर्मचारी सरह विमा र सशस्त्र प्रहरी बलको अस्पतालहरुमा उपचारको अवसर प्रदान गरिएको जानकारी गराए ।
‘क्लवका खेलाडीहरुले स्थापनायता हालसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ४२ स्वर्ण, ३० रजत, २७ कास्य पदक हासिल गरेको छ भने राष्ट्रिय स्तरमा ७१९ स्वर्ण, ५८४ रजत र ५८१ कास्य पदक हासिल गरेको कुरा उल्लेख गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले हाल सम्म ७६१ स्वर्ण सहित कूल १ हजार ९ सय ९३ पदक हासिल गर्न नेपाल एपीएफ क्लव सफल रहेको चर्चा गरे ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले सशस्त्र प्रहरी बलले हाल संचालन गर्न लागेको उल्लेखित तीन वटै राष्ट्रिय प्रतियोगिताको कूल पुरस्कार राशी १७ लाख ६० हजार रुपैयाँ रहेको कुरा समेत जानकारी गराए । यहि १६ माघबाट संचालन हुने राष्ट्रिय स्तरको प्रतियोगिता ब्याडमिन्टनमा भाग लिनको लागि खेलाडीले एकल इभेन्ट्समा पाँच सय रुपैयाँ तथा युगल इभेन्ट्समा एक हजार रुपैयाँ तिरेर आवेदन फर्म भर्नुपर्ने छ । प्रतियोगिताका खेलहरु बीडब्लुएफ र बीएसीको नियमाअनुसार संचालन गरिने छ ।
तेह«ौं राष्ट्रव्यापी कृष्णमोहन स्मृती खुल्ला व्याडमिन्टन प्रतियोगितामा कूल १० इभेन्ट्स समावेश गरिएको र जम्मा पुरस्कार राशी सात लाख १० हजार रुपैयाँ रहेको छ । यस्तै १३ माघबाटसंचालन हुने नवौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगितामा कुल १३ इभेन्ट्समा पाँच लाख ९५ हजार रुपैयाँ पुरस्कार राशी रहेको छ ।
उक्त प्रतियोगिता सशस्त्र प्रहरी बल प्रधान कार्यालय परिसर स्थित नेपाल एपीएफ क्लवको लनटेनिस कोर्ट र सातदोवाटो स्थित अखिल नेपाल लनटेनिस कोर्टमा संचालन हुनेछ । कुनैपनि एकल इभेन्ट्समा एक हजार रुपैयाँ तथा युगल इभेन्ट्समा एक हजार पाँच सय रुपैयाँ तिरेर आवेदन फर्म भर्नुपर्ने छ । प्रतियोगिताका खेलहरु आइटीएफ र एएनएलटिएको नियमानुसार संचालन हुने छ ।
यस्तै १६ माघबाट संचालन हुने सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिताका सम्पूर्ण खेलहरु अन्तर्राष्ट्रिय भलिबल महासंघको नियममा रहि नेपाल भलिबल संघको प्राविधिक सहयोगमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रीद्धारा संचालन गरिने तथा खेल लिगकम नकआउट प्रणालीमा वेष्टअफ फाइभमा खेलाइने छ ।
ब्याडमिन्टन प्रतियोगितामा सहभागि हुने खेलाडीहरुले आवेदन फारम नेपाल एपीएफ क्लब हल्चोक काठमाडौं, सशस्त्र प्रहरी बलका वाहिनीहरु, गणहरु र सीमा सुरक्षा कार्यालय तथा गुल्महरुबाट प्राप्त गर्न सकिने र ११ माघमा कार्यालय समयभित्र एपीएफ क्लबमा बुझाउनु पर्नेछ ।
यसैगरी लनटेनिस प्रतियोगितामा सहभागि हुने खेलाडीहरुले आवेदन फारम सशस्त्र प्रहरी बलका उल्लेखित कार्यालयहरु तथा अखिल नेपाल लन टेनिस संघ सातदोबाटो र त्रिपुरेश्वर लन टेनिस क्लब दशरथ रंगशालाबाट प्राप्त गर्न सकिने जनाइएको छ ।

Comment