एडिडास स्प्रिन्ट मिटमा आशिष र दिलमाया उत्कृष्ट

krishnakesharihimal kcdilmaya
एडिडास गोल्डेन स्प्रिन्ट मिट– २०१४ को पुरुषमा आशिष चौधरी र महिलामा दिलमाया कार्की आइतबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । सशस्त्र प्रहरी बलको एपीएफ क्लबद्वयले उत्कृष्ट भएवापत समान १०–१० हजार नगद पुरकार प्राप्त गरे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष १ सय मिटरमा आशिषले पहिलो स्थान हात पारे । आशिषले निर्धारित दूरी १०.८ सेकेन्डमा पूरा गरे । यो विधाका राष्ट्रिय कीर्तिमानधारी एवं उपाधिका मुख्य दाबेदार नेपाल आर्मी क्लबका यामसाजन सुनारले ‘फल्स स्टार्ट’ गरेपछि दौडबाट बाहिनु परेको थियो । आर्मीकाद्वय मीनबहादुर चौधरी (१०.९ सेकेन्ड) दोश्रो र छविलाल चौधरी (११.० सेकेन्ड) तेश्रो भए ।
दोहोरो स्वर्ण जितेकी दिलमाया २ सय र ४ सय मिटर दौडमा पहिलो भइन् । दिलमायाले २ सय मिटर दूरी पार गर्न २६.० सेकेन्ड समय खर्चिन् । आर्मीकी कृष्णा चौधरी (२६.६ सेकेन्ड) दोश्रो र नेपाल प्रहरी क्लबकी मनमती विष्ट (२६.९ सेकेन्ड) तेश्रो स्थानमा रहे ।
दिलमायाले ४ सय मिटर दूरी पूरा गर्न ६१.६ सेकेन्ड समय लगाइन् । आर्मीकी सरस्वती भट्टराई (६४.० सेकेन्ड) ले रजत तथा एपीएफकी फुलमती राणा (६६.६ सेकेन्ड) ले कांस्य जिते ।
पुरुषको ४ सय मिटर दौड ५०.१ सेकेन्डमा सिध्याएका आर्मीका हिमाल केसी शीर्ष स्थानमा रहे । आर्मीकै मुक्ति खड्का (५०.६ सेकेन्ड) ले दोश्रो र प्रहरीका खेमराज चौधरी (५२.६ सेकेन्ड) ले तेश्रो स्थानमा दौड टुंगाए ।
पुरुषको १ सय मिटर दौडमा ‘फल्स स्टार्ट’ का कारण दौडबाट बाहिरिएर निराश हुन पुगेका यामसाजन २ सय मिटर दौडमा भने सबै प्रतिद्वन्द्वीलाई उछिन्दै पहिलो स्थानमा आए । उनले निर्धारित दूरी २१.६ सेकेन्डमा सकाए । आर्मीका मीनबहादुर चौधरी दोश्रो भए । १ मिटर दौडमा पहिलो भएका आशिष यो विधामा भने तेश्रो स्थानमा सीमित भए ।
पुरुषको १ सय १० मिटर बाधा दौड (हर्डल्स) मा प्रहरीका धीरेन्द्र चौधरी पहिलो भए । उनले १५.९ सेकेन्ड समय लगाए । आर्मीका महतोद्वय विशेष र शोभाकान्त क्रमशः दोश्रो र तेश्रो भए ।
महिलाको १ सय मिटर हर्डल्समा प्रहरीकी केशरी चौधरी पहिलो भइन् । केशरीले १६.८ सेकेन्ड समय निकालिन् । एपीएफकाद्वय सविता चौधरी (१६.९ सेकेन्ड) दोश्रो तथा शिला चौधरी (१८.७ सेकेन्ड) तेश्रो भए ।
महिलाको १ सय मिटर दौडमा आर्मीकी कृष्णा चौधरीले पहिलो स्थानमा दौड टुंगाइन् । कृष्णाले १२.९ सेकेन्डमा दौड तय गरिन् । प्रहरीकी मनमती विष्ट दोश्रो र एपीएफकी सरस्वती चौधरी तेश्रो भए ।
पुरुषको ४ मिटर हर्डल्समा महावीर भुजेलले पहिलो स्थान ओगटे । उनले ५७.१ सेकेन्ड समय खर्चे । पदम कार्की (५८.० सेकेन्ड) दोश्रो र अशोक कुँवर (५८.६ सेकेन्ड) तेश्रो भए । पदक विजेतात्रय आर्मीका हुन् ।
त्यसै स्पर्धाको महिलामा एपीएफकी सविता चौधरी अगाडि रहिन् । सविताले ६८.५ सेकेन्ड समय लगाउदै स्वर्ण चुमिन् । प्रहरीकी मनमती विष्ट दोश्रो र एपीएफकी शिला चौधरी तेश्रो भए ।
शीर्ष तीन स्थान हात पार्ने सबै विधाका खेलाडीले क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार थापे । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा र सदस्य मनबहादुर न्यौपाने, सभासद् एवं नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिवविक्रम शाहलगायतले पुरस्कृत गरे ।
विश्व विख्यात खेल सामाग्री उत्पादन गर्ने कम्पनी एडिडासको नेपालका लागि आधिकारिक विक्रेता रुट्स फेसन प्रा.लि. ले नेपाल एथलेटिक्स संघसंगको सहकार्यमा आयोजना गरेको एक दिने प्रतियोगितामा पुरुष÷महिलामा समान ५–५ गरी १० स्पर्धामा ६० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Comment