संरक्षक र माहिकालाई उपाधि

tennis2संरक्षकभूषण वज्राचार्य र माहिका राणा १३ औं जयकर स्मृति राष्ट्रिय जुनियर खुला लनटेनिस प्रतियोगिताको यु–१४ उमेरसमूहको सिंगल्समा शनिबार च्याम्पियन बनेका छन् ।
अन्तिम दिन सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा संरक्षकले रेन्जन लामालाई ६–३ र ६–४ को सोझो सेटमा पराजित गरे । दीपेश खत्री र प्रशान्त बस्नेत संयुक्त रुपमा तेश्रो भए ।
अखिल नेपाल लनटेनिस संघको सहयोगमा मन–जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको गल्र्स उपाधि भिडन्तमा माहिकाले इरा राउतलाई ६–४, ६–७ र ७–६ को सेटमा हराइन् । माहिकाकी जुम्ल्याहा दिदी मायांका र एनी माथेमा तेश्रो भए ।
यु–१४ को विजेताले १७ हजार ५ सय र उपविजेताले ९ हजार नगद पुरस्कार हात पारे । संरक्षक र माहिका प्रतियोगितामा दोहोरा स्वर्ण जित्ने खेलाडी पनि बने । संरक्षकले सक्षम कार्की तथा माहिकाले जुम्ल्याहा दिदी मायांकासंग मिलेर आ–आफ्नो डबल्स स्पर्धामा उपाधि जितेका थिए । विजेता जोडीलाई २० हजारका दरले नगद पुरस्कार थापे ।
यसअघि यु–९ सिंगल्सको ब्वाइजमा आदित्य सुवेदी र गल्र्समा रायना शाह, यु–१० सिंगल्सको ब्वाइजमा आदित सुवेदी र गल्र्समा सलोनी तामाङ तथा यु–१२ सिंगल्सको ब्वाइजमा संरक्षकका भाइ सम्यक र गल्र्समा अभिलाषा विष्ट पहिलो भएका थिए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा लामो समयदेखि टेलिभिजन पत्रकारितामा क्रियाशिल खेल पत्रकार अन्वेषण अधिकारी र टेनिसमा विशेष सहयोग गर्दै आएका विकास राणालाई आयोजक मन–जयकर टेनिस एकेडेमीले सम्मान गरेको थियो ।
पाँचदिने प्रतियोगितामा ८ सिंगल्स र २ डबल्स गरी १० स्पर्धामा ५० गल्र्ससहित १ सय १२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपाली जुनियर टेनिसकै सर्वाधिक नगद पुरस्कार राशीको यो प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ५७ हजार रुपैयाँ रहेको छ ।

Comment