सन्दिप र मनोज फाइनलमा

मध्यमाञ्चलकाद्वय सन्दिप लामा र मनोज लामा तेश्रो राष्ट्रिय वादोरियो कराते प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ५५ केजी सेमिफाइनलमा सन्दिपले पूर्वाञ्चलका राजु बुढाथोकीलाई ७–५ तथा मनोजले पश्चिमाञ्चलका मनीष तामाङलाई ५–४ ले पराजित गरे ।
महिला ५० केजीमा मध्यमाञ्चलकी सुष्मा तामाङले सुदूरपश्चिमाञ्चलकी रितु श्रेष्ठलाई हराउदै फाइनलमा स्थान पक्का गरिन् । उपाधिका लागि सुष्माले सुदूरपश्चिमाञ्चलकी गृष्मा श्रेष्ठ र मध्यमाञ्चलकी रिमला राईबीचको विजेता संग खेल्नेछिन् ।
दोलखाको देवी उमाविमा भइरहेको प्रतियोगिताको महिला ५५ केजीमा पूर्वाञ्चलकी भद्रकला राई र मध्यमाञ्चलकी कविता खड्का फाइनलमा पुगे ।
पुरुष ५० केजीमा मध्यमाञ्चलका ज्ञानबहादुर तामाङ, मोहन तामाङ र राजिव श्रेष्ठ तथा पूर्वाञ्चलका निरज गौतम सेमिफाइनलमा प्रवेश गरे ।
प्रतियोगिताको पूर्व सञ्चार मन्त्री अग्नी सापकोटाले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । प्रतियोगितामा एकल कातासहित पुरुषमा ९ र महिलामा ४ गरी १३ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको नेपाल कराते महासंघका महासचिव एवं वादोरियो प्रमुख प्रशिक्षक हरिशरण केसीले जनाएका छन् । दुईदिने प्रतियोगितामा १ सय ९१ खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक बालकृष्ण आचार्यले जनाएका छन् ।

Comment