राणा जुम्ल्याहालाई उपाधि

tennis
जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका राणाको जोडी १३ औं जयकर स्मृति राष्ट्रिय जुनियर खुला लनटेनिस प्रतियोगिताको गल्र्स डबल्सतर्फ शुक्रबार च्याम्पियन बनेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको उपाधि भिडन्तमा राणा जोडीले अर्को जुम्ल्याहा जोडी दिदी क्याथ्रिन माथेमा र एनीलाई ७–६ र ६–२ को सोझो सेटमा पराजित गरे ।
सोही स्पर्धाको ब्वाइजमा संरक्षकभूषण वज्राचार्य र सक्षम कार्कीको जोडी पहिलो भए । उक्त जोडीले फाइनलमा दीपेश खत्री र प्रशान्त बस्नेतको जोडीलाई ६–० र ६–३ को सीधा सेटमा हराए ।
अखिल नेपाल लनटेनिस संघको सहयोगमा मन–जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा अभिलाषा विष्ट यु–१२ गल्र्स सिंगल्स च्याम्पियन बनिन् । फाइनलमा अभिलाषाले सलोनी तामाङको चुनौती ६–१ र ६–२ ले समाप्त पारिन् । यु–१० गल्र्स सिंगल्समा भने सलोनी उपाधि जित्न सफल भइन् । फाइनलमा सलोनीले इशाश्री शाहमाथि ८–३ को जित निकालिन् ।
यु–१२ ब्वाइज सिंगल्समा सम्यकभूषण वज्राचार्यले बाजी मारे । उनले फाइनलमा शुलभ धिताललाई ६–२, ५–७ र ६–३ ले रोके ।
यु–९ ब्वाइज सिंगल्समा अदित सुवेदीले रनव सिंहलाई ८–३ ले पाखा लगाउदै पहिलो स्थान कब्जा गरे । यु–१० ब्वाइज सिंगल्सको उपाधि आदित्य सुवेदीले चुमे । उनले फाइनलमा आर्यन गिरीमाथि ८–२ को जित दर्ता गरे ।
यु–१४ गल्र्स सिंगल्सको उपाधिका लागि माहिका राणा र इरा राउत भिड्ने भएका छन् । माहिकाले जुम्ल्याहा दिदी मायांकालाई ६–१ र ६–२ तथा इरा राउतले एनी माथेमालाई ७–६, ४–६ र ६–३ ले पाखा लगाए ।
प्रतियोगिताको अन्तिम दिन शनिबार यु–१४ ब्वाइज र गल्र्स सिंगल्सको फाइनल हुने आयोजकले जनाएको छ ।

Comment