नवौं विटी कप सेभेन–ए–साइड फुटबलमा पाँच खेल सम्पन्न

पोखरा
बुद्धटोल युवा क्लब पोखरा पुरानो टुँडिखेलको आयोजनामा पुरानो टुँडिखेल मैदान बगरमा जारी नवौं विटी कप सेभेन–ए–साइड फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार पाँच खेल सम्पन्न भएका छन्।
पहिलो खेलमा युवाईभीसी रिभानले इन्द्रेणी एकीकृत विकास केन्द्रलाई ३–२ ले पराजित ग¥यो। युवाईभीसी रिभानको लागि विक्रम थापाले दुई तथा सुवास क्षत्रीले एक गोल गरेका थिए। इन्द्रेणीको तर्फबाट विमल थापा र मनिष श्रेष्ठले एक–एक गोल गरेका थिए।
दोस्रो खेलमा यु–१७ नाउडाँडाले विटी जुनियरलाई २–१ ले पाखा लगायो। यु–१७ नाउडाँडाको लागि दुवै गोल वासु शेर्पाले गरेका थिए भने विटी जुनियरको तर्फबाट मात्र एक गोल संगम पार्जीले गरेका थिए।
तेस्रो खेलमा दीप युनाइटेडले एसटी गाइजलाई टाइब्रेकरमा ५–५ ले हरायो। निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। निर्धारित समयमा दीप युनाइटेडका सागर छन्त्याल र एसटी गाइजका कृष्ण गुरुङले एक–एक गोल गरेका थिए।
चौथो खेलमा प्राइज ट्यागले नदीपुर एफसीलाई ५–० ले पराजित ग¥यो। प्राइज ट्यागको लागि विष्णु गुरुङले ह्याट्रिक गरे भने जीवन गुरुङ र विमल रानाले एक–एक गोलको योगदान दिएका थिए।
पाँचौं खेलमा बी–१३ सत्य युथ क्लबले अमरदीपलाई ३–१ ले हरायो। बी–१३ को लागि शिव सुवेदीले दुई तथा गोविन गुरुङले एक गोल गरेका थिए। अमरदीपको लागि आगमन खड्काले सान्त्वना गोल फर्काएका थिए। शनिबार पहिलो चरणका पाँच तथा दोस्रो चरणको एक खेल हुने राजु गुरुङले जानकारी दिए।
पुस १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ३५ टीमको सहभागिता रहेको छ। प्रतियोगितामा विजेता टीमलाई नगद ७५ हजार पाँच सय ५५ तथा उपविजेता टीमलाई नगद ४५ हजार पाँच सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका सहसचिव एवं खेल संयोजक प्रदीपकुमार राई ‘दाह्रासिंह’ ले जानकारी दिए।

Comment