नेपालको र श्रीलंकाको बिजयी सुरुवात

volleyball
प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसीपमा आयोजक राष्ट्र नेपालले बिजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कबर्डहलमा शुक्रवार सम्पन्न उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । कमजोर मानिएको माल्दिभ्स बिरुद्ध नेपालले २५–१९, २५–११ र २५–१३ को सहज जित दर्ता गराएको थियो । तुलनात्मक रुपमा पहिलो सेटमा कमजोर प्रर्दशन गरेको नेपालले दोस्रो र तेस्रो सेटमा सुधारिएको प्रर्दशन गरेको थियो ।
“पहिलो सेटमा रिसिभिङ बिग्रियो ।” नेपाली महिला टोलीका प्रशिक्षक सुदेश कुमार रिमालले बताए । “त्यस कारण अटयाकिङ खेल्न सकेनौ ।” उनले भने । दोस्रो र तेस्रो सेटमा खेलाडीले राम्रो तालमेल गरेको प्रशिक्षक रिमालको भनाइ थियो । टोलीले उत्कृष्ट प्रर्दशन गरेको दाबी गर्दै उनले अन्य बलिया प्रतिद्धन्द्धी बिरुद्ध सुधारिएको प्रर्दशन गर्ने बताए ।
उता, माल्दिम्सका प्रशिक्षक ईब्राहिम जलिलले आफनो टोलीको प्रर्दशनबाट खुसी ब्यक्त गरे । नेपाल बलियो टोली भएको बताउदै उनले आफनो टोलीले राम्रो खेलेको प्रतिक्रिया दिए ।
यसै बिच, प्रतियोगिता अन्तरर्गतको दोस्रो खेलमा श्रीलंका ३–०ले जित हात पारेको छ । बंगलादेश बिरुद्धको खेलमा श्रीलंकाली टोलीले २५–६, २५–१८ र २५–१५ को सफलता हात पारेको छ ।
प्रतियोगिता अन्तरर्गत शनीबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा भारतले माल्दिभ्सको सामना गर्नेछ भने दोस्रो खेलमा आयोजक राष्ट्र नेपालले बंगलादेशको सामना गर्नेछ ।
५ देश सम्मिलित प्रतियोगिता भोली नेपालले बंगलादेश बिरुद्ध प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोबिनका आधारमा ४ दिनसम्म संचालन हुने प्रतियोगितामा आयोजक राष्ट्र नेपाल सहित भारत, श्रीलंका, माल्दिभ्स र बंगलादेश सहभागी छन् ।
यस अघि प्रतियोगिताको उद्घाटन संविधान सभाका सभामुख सुवास चन्द्र नेम्वाङले गरे ।

Comment