राखेपद्वारा पदम विजेता भगवती सम्मानित

b maghi

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चौथो एसियाली बिच गेम्समा पदक जितेकी भगवती माझीलाइ बुधबार नगदसहित सम्मान गरेको छ ।
थाइल्यान्डको फुकेटमा गत नोभेम्बर १३ देखि २४ तारिखसम्म भएको गेम्स अन्तर्गत साम्बोतर्फ स्पोर्ट्स साम्बोको महिला ५२ केजीमा भगवतीले कांस्य जितेकी थिइन् । राखेप सदस्य–सचिव युवराज लामाले भगवतीलाई २० हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरी सम्मान गरे ।
सोही अवसरमा भगवतीलाई नेपाल इन्सोरेन्स कम्पनीले पनि सम्मान गरेको थियो । उनलाई कम्पनीका महाप्रबन्धक चन्द्रसिंह साउदले नगद १० हजार प्रदान गरे । साउदले भगवतीलाई कम्पनीले १ वर्षका लागि ५ लाख रुपैयाँ बराबरको व्यक्तिगत दुघर्टना विमा पनि गरी दिएको जानकारी गराए ।
त्यसैगरी रसियाको मस्कोमा गत नोभेम्बर १० देखि १६ तारिखसम्म भएको २५ औं विश्व युनिफाइट च्याम्पियनसिपको स्पोर्ट्स युनिफाइटको पुरुष ६० केजीमा कांस्य जितेका साम्बो खेलाडी कृष्णलाल तामाङलाई पनि सम्मान गरियो ।
नेपाल साम्बो फेडेरेसनका उपाध्यक्ष पुरुषोत्तम सिम्खडा र सदस्य कृष्णबहादुर राउतले मिलेर १० हजारसहित सम्मान गरेको साम्बोका सचिव उत्तम श्रेष्ठले जनाएका छन् ।

Comment