सुनकोसीकै पोल्टोमा व्याकुल माइला गोल्ड कप

bayakul mahila

राष्ट्रगान सर्जकको नामबाट उनकै जन्मथलोमा सञ्चालित व्याकुल माइला गोल्ड कपको चौथौं संस्करणको उपाधिमाथि फेरि सुनकोसी युवा समूहले कब्जा जमाएको छ ।
ओखलढुंगाको थाक्ले–८, सोक्मटारस्थित दूधकोसी किनारमा आज भएको फाइनल खेलमा उँबु खेलकुद विकास समितिलाई २–१ गोल अन्तरले पाखा लगाउँदै उदयुपर घुर्मीको सुनकोसी युवा समूहले उपाधि आफ्नो पोल्टोमा पारेको हो । सुनकोसीका लागि चन्द्रबहादुर थापा मगर र मोहन कटुवालले गोल गरेका थिए ।
हिलेपानी फुटबल क्लब, दूधकौशिका प्रावि र नयाँ नेपाल सरोकार समाज आयोजक रहेको यस प्रतियोगितामा स्थानीय सयपत्री समर्पण युवा क्लब तेस्रो स्थानमा आएको छ । समाजसेवा युवा प्राविको टोलीलाई ४–० गोल अन्तरले हराउँदै सयपत्री समर्पणले तेस्रो स्थान कब्जा गरेको हो ।
प्रतियोगिताको उपाधि विजेताले चाँदीको कपसहित नगद ५० हजार, दोस्रोले ३० हजारका साथ चाँदीकै कप र तेस्रोले २० हजारका साथ चाँदीको कप प्राप्त गरेका छन् । यसका साथ दिलकर्ण बेस्ट टिम नवसगरमाथा युवा क्लब, नवसगरमाथाका मोहन गुरुङ बेस्ट प्लेयर, नवसगरमाथाकै अजित माझी बेस्ट स्कोरर र सयपत्री समर्पण क्लबका विवेक कार्की बेस्ट किपर घोषित भएको आयोजकले जनाएको छ ।
आयोजक व्याकुल माइला गोल्ड कप मूल समारोह समितिका अनुसार मंसिर २१ गतेदेखि नकआउटका आधारमा सञ्चालित गोल्ड कपको यस संस्करणमा खोटाङ, उदयपुर, सिन्धुलीसहितका गरी १८ टिमको सहभागिता थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्रवण मुकारुङले गोल ठोकेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।
‘खेलकुदको माध्यमबाट विकासको अभियान’ भन्ने नाराका साथ सुरु भएको यस गोल्ड कप दिगो विकासका लागि प्रस्थान बिन्दु बनेको आयोजकले जनाएको छ । फुटबलका माध्यमबाट गाउँमा विकासको सुरुआत भइसकेको गोल्ड कपका लागि गठित मूल समारोह समितिका संयोजक रक्षमान राईले जानकारी दिए । स्थानीय तहमा मात्र होइन, राष्ट्रिय स्तरमै विभिन्न योजना परिसकेको उनको भनाइ थियो ।
आयोजकका अनुसार फुटबल प्रतियोगिताकै अवसरमा स्वास्थ्य शिविर सञ्चालन, गीतसंगीत तथा कला क्षेत्र, मार्सल आर्टदेखि भाषिक, सांस्कृतिक तथा सामाजिक जनचेतनामूलक अन्य कार्यक्रम पनि हुँदै आएका छन् । यसपटक अल्का अस्पतालका संस्थापक एवं अध्यक्ष कुमार थापा, प्रशासकीय निर्देशक एवं लायन्स अल्काका अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतका पदाधिकारीसहित २२ जना स्वास्थ्यकर्मीको टोलीले दूधकोसी किनारमै पुगेर निःशुल्क स्वास्थ्य शिविरमा सेवा उपलब्ध गराएका थिए ।
व्याकुल माइला कप फुटबल प्रतियोगिताको नामबाट २०६८ मा सुरु भएको यस प्रतियोगितालाई २०७० सालमा आएर व्याकुल माइला गोल्डकप नामकरण गरिएको थियो । पहिलो वर्ष नयाँ नेपाल सरोकार समाज, दोस्रो वर्ष उदयपुरको सिर्जना युवा समूह र तेस्रो संस्करणमा उदयपुरकै सुनकोसी युवा समूह घुर्मी च्याम्पियन बनेका थिए ।

Comment